काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन्।

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन्।

उनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताए। उनले आफू देशबाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पारे।
अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताए। उनले शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्ने गरी आन्दोलन गरिने उल्लेख गरे।
उनले गणतन्त्रवादी राजनीतिक दलहरु र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्नेमा जोड दिए। उनले देश निरन्तर रुपमा ओरालो लागिरहेको भन्दै देशलाई उठाउने कुनै प्रयत्न नभएको बताए।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा हुने व्यवस्था गर्नुपर्ने बताए। प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए।
