काठमाडौँ – निजामती सेवामा दलीय ट्रेड युनियन हटाउन खोजिएको भन्दै विभिन्न राजनीतिक दलनिकट ट्रेड युनियनहरुले आपत्ति जनाएका छन्।
सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमाले निजामती सेवामा दलीय ट्रेड युनियन हटाउन तयार भएको सार्वजनिक भएपछि सत्तारुढ र विपक्षी दलहरुनिकट ट्रेड युनियनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा कांग्रेस–एमालेका प्रमुख सचेतकले निजामती सेवामा सर्वाधिक विवादित मानिएको दलीय आधारमा ट्रेड युनियनको अधिकार कटौती गर्नुपर्ने बताएका थिए।
समितिमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले दलीय ट्रेड युनियनको अधिकारमाथि पुनर्विचार हुनपर्ने धारणा राखेका थिए।
त्यस्तै, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे बर्तौलाको प्रस्तावमा समर्थन जनाउँदै अब ट्रेड युनियनको औचित्य नभएको बताएका थिए।
शुक्रबार एमालेको नेपाल निजामती कर्मचारी संगठन, कांग्रेसको नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्रको नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत समाजवादीको एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रेड युनियन अधिकार कटौती नगर्न चेतावनी दिएका हुन्।


पुस १२, २०८१ मा प्रकाशित