काठमाडौँ, पुस १६ गते। नेकपा (एमाले) ले पूर्व उपाध्यक्ष डा. भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरिसकेको छ। त्यसयता डा. रावल अब कुन पार्टी प्रवेश गर्नुहुन्छ वा नयाँ पार्टी खोल्नतर्फ लाग्नुहुन्छ भन्ने विषयमा धेरैको चासो रहेको छ। डा. रावल निकट नेताहरुले एमालेले सो निर्णय सच्याउनुपर्ने र नेता रावलले पनि एमालेको केन्द्रीय कमिटीको बैठकसम्म धैर्यता अप्नाउनुपर्ने बताएका छन्।
नेकपा (एमाले) का नेता झापट रावलले पूूर्व उपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि भएको कारवाहीको निर्णय सच्चिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “यसले पार्टीलाई क्षति गर्छ। यो क्षति भनेको कमरेड भीम रावल, बिन्दा पाण्डे अथवा उषाकिरण तिम्सिना मात्र बाहिरिने होइन, यसले के गर्छ त भन्दा विचार निर्माण, संगठन विस्तारको क्षेत्रमा पनि क्षति गर्छ।”
डा. रावलले नयाँ पार्टी खोल्ने विषयको सन्दर्भमा उहाँले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो।
उहाँले भन्नुभयो, “यस विषयमा त मैले सुनेको छैन। मेरो भेट पनि भएको छैन। जे निर्णय गरियो, त्यो लोकतान्त्रिक पार्टीभित्र बेठिक हो। यो सच्याउनुपर्ने भन्ने लाग्छ मलाई। यो हाम्रो लागि त दुखद हो। खासगरी, म जहाँबाट प्रतिनिधित्व गर्छु, त्यो भूगोल, देशैभरीका लागि पार्टीभित्र यसले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँछ भन्ने मान्यता राख्छु।”
यस्तै, एमाले नेता प्रकाश शाहले पार्टीमा ५० वर्ष योगदान गरेको व्यक्तित्वलाई निषेध गरेर जाने कुरा पार्टी आन्दोलनको हितमा नहुने भनाइ राख्नुभयो। त्यसकारण, एमालेको केन्द्रीय कमिटीको बैठकले यो निर्णय सच्याउनुपर्ने उहाँको भनाइ छ।
नेता शाहले भन्नुभयो, “डा. भीम रावल प्रखर, सिद्धान्तनिष्ठ, मूल्य, मान्यतामा उभिएको राष्ट्रिय व्यक्तित्व हो। सुदूरपश्चिमको पिछडिएको, उत्पिडनको भूगोलबाट प्रतिनिधित्व गर्नुहुन्छ। एउटा सच्चा क्रान्तिकारी नेताले यो पार्टीमा ५० वर्ष जसको योगदान छ। पसिना, श्रम बगाउनुभएको छ। आन्दोलन निर्माणका निम्ति उहाँ जस्तो व्यक्तित्वलाई त्यसरी निषेध गरेर जानु, साधारण सदस्यबाट निष्कासन गरेर जाने कुरा पार्टी आन्दोलनको हित हुन सक्दैन। त्यसैले यो कुरालाई आउने केन्द्रीय कमिटी बैठकले सच्याउनुपर्छ।”
शाहले एमालेले कारवाहीको निर्णय सच्याउनुपर्ने र कारवाहीमा परेका रावलले पनि केन्द्रीय कमिटीको निर्णयसम्म भएपनि पर्खनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “डा. भीम रावलले पनि धैर्यता गरेर पार्टी केन्द्रीय कमिटीमा कुन ढङ्गले मत आउँछ, केन्द्रीय कमिटीका सदस्यहरुको आफ्नो मौलिक विचार, स्वतन्त्र निर्णय, आफ्नो अभिमत, राय प्रकट हुन्छ नि त। केन्द्रीय कमिटीले निर्णय लिन्छ। त्यो विषयमा कस्तो पाइला चाल्छ, डा। भीम रावलले धैर्यतापूर्वक त्यो बैठकलाई पर्खदा उचित हुन्छ जस्तो मलाई लाग्छ। पार्टीले यो निर्णय नसच्याउनुको विकल्प छैन।”
gorkhapatraonline