शनिबार राति धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। चालकसहित ६ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका–६ अण्यौलमा दुर्घटना भएको हो।
२१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ। त्यस्तै कैलालीको गोदावरी नगरपालिका–४ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको छ।
शुक्रवार राति सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेलधुराको परशुराम नगरपालिका–११ का २१ वर्षीय विष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको हो। विहिबार मात्र डडेल्धुरामा मोटरसाइकल र कार एक आपसमा ठोक्किदा मोटरसाइकल चालक शम्भुसिंह धामको मृत्यु भएको छ।