बैतडी- बैतडीमा एक शिशुको शंकास्पद मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शंकास्पद मृत्यु भएको हो । बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्त धु्रब रानाले बताए ।
नियमित खोप कार्यक्रम अन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए ।
सोही विवरणका डोजहरु अघिल्लो दिन पनि केही बालबालिकाहरुलाई लगाइएको र केही समस्या नआएको तर आदर्शको हकमा उक्त घटना भएको विषय संस्कास्पद रहेको डिलासैनी–३ स्थित रुद्रेस्वर स्वास्थ्य चौकीका इन्चार्ज सन्जु बोहराले जानकारी दिए । खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन् । तर शवको पोष्टमाटम गरेपछि मात्रै मृत्युको कारण खुल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानीयहरुले घटनाको छानबिनको माग गर्दै सडक अबरुद्ध पारेका छन् । आफन्तहरुले गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध गरेका छन् । वर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको आरोप लगाउदै आज दिउँसो १२ बजेदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका हुन् । यस घटनाको निस्पक्ष छानबिन हुनुपर्ने र क्षतिपुर्तीको मागसहित सडक अबरुद्ध पारिएको स्थानीय ध्रुव रानाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १४:४७