काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले भारतको नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गर्ने नेपालका नेतालाई दिल्ली नै फर्काउनुपर्ने चेतावनी दिएका छन्।
अभियन्ता दुर्गा प्रसाईंको आन्दोलनलाई बिहीबार समर्थन गर्न पुगेका शाहीले सम्बोधन गर्दै दिल्लीमा १२ बुँदे सम्झौता गर्ने नेपालका नेतालाई दिल्ली नै फर्काउनुपर्ने बताएका हुन्।
उनले भने,‘भारतको दिल्लीमा बसेर १२ बुँदे सम्झौता गरेर नेपाली जनतालाई हत्या गर्ने हत्याराहरुलाई तिम्रो १२ बुँदे दिल्लीबाट आएको हो। आजबाट दिल्ली नै फिर्ता पठाउने हामी घोषणा गर्न चाहन्छौँ।’
राष्ट्रको हक हितमा आवाज उठाउने दल राप्रपा मात्रै रहेको र आफ्नो दल सदनमा एक्लै परेको उनको भनाइ छ। ‘तपाईंलाई कत्तिको याद छ, संसदमा आज हामी एक्लै छौँ। देशद्रोहीहरु, देश लुटेराहरु एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पास गर्नेहरु सदनमा गएका छन्। ३६ हजार राजा पाल्नुभन्दा, विदेशी भिकारीबादी बन्नुभन्दा राजावादी बन्नु हामीलाई गौरव महसुस छ।’
उनले थपे,‘आज सटर बन्द भएर बैंकको किस्ता तिर्न नपाएर फाइनान्सले आज डुबाएर दाजुभाइहरु झुन्डिएर मर्नुभएको छ। हत्या भनेको गोली हानेर मात्रै मान्छे मारिदैन, आज घर जग्गा लिलामी भएर मान्छेले झुन्डिएर मर्नु पनि यो सरकारले मान्छेको हत्या गरेको हो। यो व्यवस्थामा हामीले प्रदेश पाल्न सक्दैनौँ, ६ सय अर्ब प्रदेशमा खर्च भयो, यो रकम विकास निर्माणमा लगाएको भए आज देश कायापलट हुन्थ्यो। अबको आन्दोलन व्यवस्था र अवस्था दुवै परिर्वतन गर्नको लागि हो।’