कोशी नामविरूद्धको आन्दोलन चर्किँदै जान थालेपछि प्रदेश सरकारले आन्दोलनकारीलाई संवादबाट समस्याको हल खोज्न आह्वान गरेको छ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार नामकरणका सन्दर्भमा उठेको आन्दोलनलाई संवादमार्फत हल गर्न चाहने उल्लेख गरेका छन्।
मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिने क्रममा पनि आन्दोलनकारीलाई वार्ता र संवादबाट हल खोज्न आग्रह गरेका थिए।
‘संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरू भए आफ्ना हिंसात्मक गतिविधिहरू छाडेर सरकारसँग संवाद र छलफल गर्न आह्वान गर्दछु। हामी संवाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं,’ मुख्यमन्त्री कार्कीले भनेका थिए। मन्त्री सिटौलाले मुख्यमन्त्री कार्कीको आह्वान अनुसार नै संवादका लागि सरकार तयार रहेको बताएका हुन्।
प्रदेश सरकारलाई पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न सांसदहरूले पनि तीव्र दबाब दिँदै आएका छन्।
फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन्। आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन्। आइतबार मात्रै प्रदेशसभा भवन अगाडि प्रदर्शनकारी बीच दिनैभरीजसो झडप हुँदा चार दर्जनभन्दा बढी घाइते भएका थिए।
आइतबार पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेपछि प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले बुधबारदेखि प्रदेशव्यापी आम हड्ताल घोषणा गरेको थियो। मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलपछि उनीहरूलाई रिहा गर्न प्रशासन सहमत भएपछि आम हड्ताल फिर्ता लिएको समितिले जनाएको छ।
संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुंगा, लाठी प्रहारबाट २५ भन्दा बढी घाइते बनाएको जनाएको थियो।
आन्दोलनको नेतृत्व गरिरहेका नागरिक उन्मुक्ति पार्टी एकीकृतका उपाध्यक्ष अशोक चेम्जोङ लिम्बूलगायत २७ जनालाई प्रशासनले रिहा गरेपछि आमहड्ताल फिर्ता लिइएको समितिले जनाएको छ।