२७ माघ, काठमाडौं । ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको नेतृत्त्वमा रहेको सरकारी दक्षता विभागलाई अमेरिकी सरकारको ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा रहेका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटा पहुँच गर्नबाट अदालतले रोकेको छ ।
अमेरिकाका जिल्ला न्यायाधीश पौल ए एन्जलमेयरले शनिबार एक प्रारम्भिक आदेश जारी गर्दै मस्क र उनको टोलीलाई पहुँचमा प्रतिबन्ध लगाउनुका साथै रेकर्डका प्रतिलिपि नष्ट गर्न पनि आदेश दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
मस्क नेतृत्त्वको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकको अतिगोप्य व्यक्तिगत वित्तीय डेटामा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दाउपर एन्जलमेयर सरकारी दक्षता विभागलाई पहुँच नदिन प्रारम्भिक आदेश दिएका हुन् ।
एन्जलमेयरले फेब्रुअरी १४ का लागि सुनुवाई तोकेका छन् ।
मस्कको नेतृत्वमा लागत घटाउने पहल डोगेलाई रेकर्डमा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेपछि यो कदम आएको हो। महान्यायाधिवक्ताले मस्क विशेष सरकारी कर्मचारी नभएको र विभाग पनि आधिकारिक नभएकाले संघीय कानुनको उलंघन गरेको तर्क गरेका थिए ।
अदालतले पहुँचमा प्रतिबन्ध लगाएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ‘पागलपन’को संज्ञा दिँदै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘पृथ्वीमा हामीले पैसा कसरी खर्च हुन्छ भनेर नहेरी करदाताको पैसाको ठगी र बर्बादीलाई कसरी रोक्ने ?’