१८ पुस, काठमाडौं । विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नम्बर दिने निर्णय गरेको छ।
शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार “मूल्याङ्कनको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो। विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ।”
“विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नु पर्छ। अहिले हामी केवल कति लेख्छ भन्ने आधारमा मूल्याङ्कन गरिरहेका छौं। त्यसैले आन्तरिक मूल्याङ्कनको विधिलाई परिवर्तन गर्ने निर्णय गरेका हौँ।”
मन्त्रालयले परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्कन नगरी घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्ने निर्णय गरेको हो।
मूल्याङ्कनको विधि कुन तरिकाले अगाडि बढाउने भन्ने बारेमा विज्ञहरूको राय र सुझावको आधारमा निर्णय गरिने उनले स्पष्ट पारिन्।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङ्कनको विधि छिट्टै बनाउने बताए। “विधि बनाएर छिट्टै कार्यान्वयनमा ल्याउने छौं,” उनले भने। शैक्षिक सत्र २०८२ देखि यो प्रणाली लागू गर्ने तयारी भइरहेको उनले बताए।
मन्त्रालयले श्रम र सिपलाई सम्मान गर्ने उद्देश्यले राम्रा कार्यलाई पाठ्यक्रममा समावेश गर्ने काम गरिरहेको छ। मन्त्री भट्टराईले थपिन्, “विद्यार्थीले पढ्ने कुरा केवल किताब वरिपरीको मात्र होइन। अब श्रम र सिपलाई सम्मान गर्दै समाजका राम्रो कुरालाई पाठ्यक्रममा समावेश गर्ने तयारी गरिरहेका छौं।”
विद्यार्थीहरूले घरमा बुबाआमालाई कति सघाउँछन्, कस्तो व्यवहार गर्छन् भन्ने कुरालाई पनि मूल्याङ्कनमा समावेश गरिनेछ। यदि विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात पकाए, भाइबहिनीलाई हेरचाह गरे, बजारमा किनमेल गरे, लुगा सिलाए, या आरनमा काम गरे भने, तिनीहरूले पनि अंक प्राप्त गर्नेछन्।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुनेछ, जबकि कक्षा ९ देखि १२ सम्म २५ नम्बरको आन्तरिक र ७५ नम्बरको बाह्य परीक्षा हुनेछ। अब आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्याएर घरको कामलाई पनि मूल्याङ्कनमा समावेश गर्ने निर्णय गरिएको हो।
यसमा, जीवनोपयोगी शिक्षा जस्तै लुगा सिल्ने र आरनमा काम गर्ने जस्ता सीपहरू सिक्ने विद्यार्थीलाई पनि आन्तरिक मूल्याङ्कनमा अंक दिइनेछ।