काठमाडौँ- ऊर्जामन्त्री दीपक खड्काको निर्देशनविपरीत नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका ४४ वटा उद्योगको बिजुली काटेको छ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बक्यौता नतिरेका ४४ वटा उद्योगको बिजुली काटेको देशसञ्चारलाई जानकारी दिए।
४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने प्राधिरणले गत असोज २४ गते सूचना प्रकाशित गरेको थियो।
प्राधिकरणका प्रवक्ता घोषले भने, ‘हामीले सूचना प्रकाशित गरेपछि ५ वटा उद्योगले पैसा तिर्न सुरु गरेका छन्। अझै ४४ उद्योगले पैसा तिर्न आनाकानी गरेकाले विद्युत काटेका हौं।’
प्राधिकरणले बिहीबार साँझ ८ बजेबाट ती उद्योगहरूमा बिजुली काट्न सुरु गरेको घोषले जानकारी दिए।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नारायण रबर इन्डस्ट्री, हिमाल आइरन, सोना पोलिमर, सोना प्याकेजिङ, यशोदा फुड्स र जयदुर्गा प्लास्टिक उद्योगले किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका छन्।
मारुती र शिवम् सिमेन्टले अदालतबाट अन्तरिम आदेश पाएका कारण ती उद्योगमा बिजुली काटिएको छैन।
बिहीबार बिहान विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले लाइन काटेर समस्याको समाधान नहुने भन्दै विकल्प खोज्न निर्देशन दिएका थिए।
उनले लाइन काट्दा उद्योगीहरुले करौडौंको क्षति व्यहोर्ने भन्दै वैकल्पिक उपाय खोज्नुपर्ने बताए पनि प्राधिकरणले ती पैसा तिर्न आनाकानी गरेका उद्योगहरूको बिजुली काटेको हो।
कात्तिक ९, २०८१ मा प्रकाशित