काठमाडौँ – सहकारी ठगी प्रकारणमा पक्राउ परेका पूर्वडिआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआईजी जोशीलाई म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा पेश गरिएको थियो।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरु दुवै जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए भने जोशी असोज ६ गते पक्राउ परेका थिए। उनीहरुमाथि गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोप छ।
सहकारी ठगीसम्बन्धी संसदीय छानिबिन समितिले पनि उनीहरुलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
स्रोतका अनुसार लामिछानेले इजलासमा आक्रोश व्यक्त गरेका थिए। उनले इजलाससमक्ष आफूमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरेका थिए।
कात्तिक ८, २०८१ मा प्रकाशित