रवि न्याययोद्धा कि अवसरवादि ?
रवि नेतृत्वको नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै २० सिट जितेर संसद् प्रवेश गर्यो। त्यसपछिको उपनिर्वाचनमा एक सिट थप्दै पार्टीले आफ्नो उपस्थिति अझ सशक्त बनायो। तर साँचो वक्तृत्वको वास्तविक परीक्षा केवल शिखर पुग्नु मात्र होइन, शिखर आरोहणलाई कायम राख्नुमा हुन्छ। अन्तर्राष्ट्रिय राजनीतिक अनुभव, विशेषगरी भाष्य निर्माण र वक्तृत्वकलाको प्रयोगमा अब भने रविले माथि उल्लेखित तीन वटै प्रभावकारी औजारमा आफ्नो पकड गुमाउँदै गएको देखिन्छ। पहिले स्पष्टता र दृढतासाथ भाष्य नियन्त्रण गरेका उनी त्यसमा कमजोर हुँदै गएका छन्। यो लेख्दैगर्दा मलाई थाहा छ कि यही टिप्पणीका कारणसमेत पर्याप्त आलोचनाको सामना गर्नुपर्नेछ। त्यसो हुँदाहुँदै पनि आफ्नो तर्कलाई सकेसम्म वस्तुनिष्ठ र प्रमाणित बनाउन प्रतिबद्ध छु।
तर्कसंगत (लोगोज्) अपिल अत्यन्त प्रभावकारी माध्यम हो, जसले तथ्य, तथ्यांक र प्रमाणका आधारमा स्रोताको मन जित्छ। वक्ताले तार्किक विचार र ठोस प्रमाणसहित कुरा राख्दा स्रोताको विश्वास मात्र जित्दैन, प्रस्तुत विचारको सत्यता र व्यावहारिकता स्वीकार गर्न तिनलाई बाध्य बनाउँछ। तर्कसंगत अपिलले स्रोताको मनमा गहिरो प्रभाव पार्दै जान्छ। विचारको समर्थनमा दृढ बनाउँछ, जसले बिस्तारै वक्ताको तर्क अस्वीकार गर्न कठिन बनाउँछ। तर्क महत्त्वपूर्ण हुँदाहुँदै पनि भावना (पेथोस्) अझै बलियो तत्त्व हो, किनकि मानवीय व्यवहारमा भावना नै निर्णायक शक्ति हो। स्रोताको भावनामा प्रभाव पार्ने स्तरको आह्वानले डर, क्रोध, खुशी या आशाजस्ता गहिरा भावना जागृत गर्छ। जब कुनै वक्ताले स्रोतासँग गहिरो भावनात्मक जडान स्थापित गर्छ, उसले तिनलाई प्रेरित गर्न, समर्थन जुटाउन र आफ्नो पक्षमा दृढतापूर्वक उभ्याउन सक्षम पार्छ। यस किसिमको अपिलले स्रोताको हृदय र मस्तिष्क दुवै छुन्छ र तिनको सोच र निर्णयलाई समेत प्रभावकारी रूपमा रूपान्तरण गर्छ।
यी सबैको मूलमा वक्ताको नैतिकता र विश्वसनीयता (इथोस्) रहेको हुन्छ। जब स्रोताले वक्तालाई विश्वसनीय, इमानदार र विज्ञका रूपमा देख्छन्, उनीहरूको सन्देशले गहिरो र दीर्घकालीन प्रभाव पार्छ। नैतिकता कुनै एक दिनमा स्थापित हुने विषय होइन। नियमित आचरण, इमानदारी र सुदृढ व्यक्तित्वको निरन्तर निर्माणमार्फत विकास हुने हो। नैतिकताले वक्ताका शब्दमा स्वाभाविक विश्वास र सम्मान उत्पन्न गराउँछ, जसकारण स्रोताले सन्देश सहजै स्विकार्छ। तर्क, भावना र नैतिकता आपसमा जोडिँदा वक्ताको सन्देश अझै प्रबल र अत्यन्त प्रभावकारी बन्छ। प्रतिष्ठित मिडिया व्यक्तित्व रवि २०७९ को आमनिर्वाचनमा धमाकादार रूपमा राजनीतिक मैदानमा उत्रिए। आश्चर्यजनक उदयको मूल कारण तर्क, भावनात्मकता र नैतिकताको अद्वितीय उपयोगद्वारा हासिल गरेको प्रभावकारिता थियो। रविले आफूलाई परम्परागत राजनीतिक संस्थाको तर्कसंगत विकल्पका रूपमा कुशलतापूर्वक प्रस्तुत गरे। बारम्बार सरकारी अकर्मण्यता र भ्रष्टाचारको आलोचना गर्दै तथ्य र तथ्यांकको सहायताले विद्यमान प्रणालीका असफलता उजागर गरे। यथास्थितिसँग निराश साधारण नेपाली नागरिकको भावना सम्बोधन गर्नेतर्फ उनका तर्क लक्षित थिए। सरकारी बेथिति र दुरुपयोगका ठोस उदाहरण प्रस्तुत गरेर रविले परिवर्तनको चाहनामा रहेका उद्वेलित जनतालाई गहिरो प्रभाव पारे।
रविको सफलता केवल तर्कमा सीमित थिएन। उनले स्रोतासँग गहिरो भावनात्मक जडान स्थापित गरे। आफूलाई जनताको आवाज र ‘च्याम्पियन’का रूपमा प्रस्तुत गरेका उनका भाषणले सत्ताविरुद्धको क्रोध र भविष्यप्रतिको आशा जागृत गरायो। रविले आफ्नो अभियानलाई जनताको न्यायपूर्ण संघर्ष र भ्रष्ट सत्ताविरुद्धको लडाइँको रूपमा चित्रित गरे, जसले तिनलाई जनसमर्थनको अपार ऊर्जा प्राप्त गरायो। रविको नैतिक अपिल उनको पत्रकारिता ‘करिअर’मा सशक्त रूपमा आधारित थियो। आफ्नो अनुसन्धानात्मक–‘पत्रकारिता’मार्फत भ्रष्टाचार उजागर गर्दै शक्तिशालीलाई जबाफदेही बनाउने प्रयासले रविलाई एक विश्वसनीय र नैतिक नेताका रूपमा स्थापित गर्यो। मिडिया अभियन्ताको रूपमा स्थापित उनको प्रतिष्ठाले सनैसनै उनमा राजनीतिक आकांक्षा बलियो बनायो। जसले गर्दा जनताले पनि तिनका प्रतिज्ञालाई सहजै विश्वास गर्न सके। यसरी, लामिछानेले तर्क, भावना र नैतिकताको कुशल प्रयोगद्वारा आफ्नो राजनीतिक यात्रा प्रभावकारी बनाए। यी तिनै तत्त्वको संयोजनले उनलाई २०७९ को निर्वाचनमा विश्वसनीय, तर्कसंगत र भावनात्मक रूपमा सम्बद्ध विकल्पका रूपमा स्थापित गर्यो, जसले नेपाली राजनीतिक परिदृश्यमा तिनको उदयलाई अद्वितीय घटना बनायो।
तर राजनीतिमा प्रवेश गरेपछि रविले विगतमा भ्रष्टाचार र अनैतिक आचरणका लागि बदनाम राजनीतिक व्यक्तित्व र दलसँग गठबन्धन गर्न थाले। यसले तिनको भ्रष्टाचारविरोधी अडानलाई गम्भीर प्रश्नको घेरामा ल्यायो। रविको व्यवहारले तिनको प्रतिबद्धता र इमानदारीमाथि गहिरो शंका उत्पन्न गरायो—के उनी साँच्चै भ्रष्टाचारविरुद्ध छन् या राजनीतिक लाभका लागि आफ्ना आदर्शलाई तिलाञ्जली दिँदैछन्? रविले परम्परागत राजनीतिज्ञलाई सत्ताप्राप्तिका लागि मात्र राजनीतिक चालबाजीमा संलग्न भएको आरोप लगाउने गरेका थिए। तर राजनीतिमा प्रवेश गरेपछि उनी पनि यस्तै चालबाजीमा संलग्न भएको देखियो—पूरा गर्न गाह्रो हुने वाचा गर्ने र बन्द कोठामा राजनीतिक सम्झौता गर्ने। यो व्यवहारले परम्परागत राजनीति माथिको आलोचना वास्तविक परिवर्तनका लागि नभई केबल जनसमर्थन र भोट जुटाउन गरिएको हो भन्ने धारणा बलियो बनायो। दुई धारपूर्ण आचरणले रविको राजनीतिक विश्वासमाथि गहिरो क्षति पुर्यायो। संसदdf सहकारी कोष दुरुपयोगको आरोपको सामना गर्दा स्पष्ट प्रमाण प्रस्तुत गर्न असफल हुनु र आरोपविरुद्ध सटिक जवाफको सट्टा प्रत्यारोपमा ध्यान केन्द्रित गर्नुले रविको तार्किक स्थिरता (लजिकल कन्सिस्टेन्सी) र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप कमजोर बनायो। संसद्मा जबाफदेहिता प्रदर्शन गर्नुपर्ने समय रविले मुद्दाको मर्म सम्बोधन नगरी ध्यान भड्काउने प्रयास गरे, जसले तिनको तर्कसंगत अपिल र राजनीतिक नेतृत्व क्षमतामा गहिरो धक्का पुर्यायो।
रविको सार्वजनिक छविमा आएको परिवर्तनले तिनको भावनात्मक अपिल (पेथोस्)लाई गम्भीर रूपमा कमजोर बनाएको छ। ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत उनले अन्यायप्रति रोष र पीडितप्रति सहानुभूति देखाएर जनतासँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गरेका थिए। तर राजनीतिमा प्रवेश गरेपछि भने रविको दृष्टिकोण रक्षात्मक र स्वार्थपरक बन्दै गयो, जसले जनतासँगको उनको भावनात्मक सम्बन्ध कमजोर पार्यो। जुन जोस र समर्पणले तिनले जनतालाई पहिले तान्थे, त्यो अब व्यक्तिगत फाइदा केन्द्रित कथानकमा परिणत भएको देखियो। उनको भावनात्मक अपिलमा सबैभन्दा ठूलो धक्का तब लाग्यो, जब सहकारी कोषको दुरुपयोग गरेर ग्यालेक्सी फोरके च्यानललाई वित्त–पोषण गरेको आरोप लाग्यो। यी आरोपले उनलाई न्याय र पारदर्शिताको च्याम्पियनको सट्टा सीमित बचत भएका आमनागरिकको धन व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने व्यक्तिका रूपमा चित्रित गर्यो। गहिरो विश्वासका साथ उनलाई समर्थन गर्ने जनतालाई धोका दिएको महसुस भयो यस प्रकरणले। गरिब जनताको बचत लुटेर व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने व्यक्ति कसरी तिनै जनताको भावना र आवश्यकतासँग गहिरो रूपमा जोडिन सक्ला? यससँगै, जब रविले आफ्नै पार्टीका संस्थापक सदस्यलाई बलात् निष्कासन गरे, यसले देखायो कि तिनमा सहकर्मीको फरक विचारको कदर गर्ने क्षमता छैन। यस्तो क्रियाकलापले जनतासँगको तिनको भावनात्मक सम्बन्धलाई थप कमजोर बनायो। यसले उनको सार्वजनिक छविमा गम्भीर असर पार्यो। जनताले रविलाई अब ‘न्याययोद्धा’ नभई अर्का अवसरवादी राजनीतिज्ञका रूपमा देख्न थालेका छन्। यसले उनको भावनात्मक अपिललाई ध्वस्त पारेको छ। रविको राजनीतिक यात्रा र जनताबीचको विश्वासमा गहिरो दरार ल्याएको छ।
रविको नैतिक छविमा आएको पतनले उनको एथोस्लाई गम्भीर रूपमा ध्वस्त पारेको छ। प्रारम्भमा रविले भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा आफूलाई निष्पक्ष, इमानदार र पारदर्शी व्यक्तित्वको रूपमा प्रस्तुत गरेका थिए। उनले पत्रकारितामार्फत अन्यायको पर्दाफास गर्दै जनताको मर्म छोए, जसले उनलाई उच्च नैतिक व्यक्तित्वका रूपमा स्थापित गर्यो। तर राजनीतिमा प्रवेश गरेपछि यी नैतिक आदर्श क्रमशः क्षीण हुँदै गए र तिनको विश्वसनीयता गहिरो संकटमा पर्यो। नागरिकता विवादबाट रविको नैतिक पतन शुरू भयो, जसले उनको छविमा गम्भीर धक्का पुर्यायो। अमान्य नागरिकता प्रमाणपत्र प्रयोग गरी राजनीतिक दल दर्ता गरेको र चुनाव लडेको आरोपले रविलाई तिनै राजनीतिक अभिजात्य वर्गको हिस्सा बनायो। यसले तिनको नैतिकता र पारदर्शितामा प्रश्न उठाउँदै जनतासँगको भावनात्मक सम्बन्ध कमजोर बनायो।
अझ गम्भीर पक्ष उनको मिडिया–नैतिकताको पतन हो। रविले पत्रकारितामा निष्पक्षता र जबाफदेहिताको महत्त्वलाई जोड दिए पनि राजनीतिमा प्रवेशपछि यो आदर्श कायम राख्न सकेनन्। विशेषगरी कैलाश सिरोहिया र कान्तिपुर मिडिया समूहको विवादमा उनले कान्तिपुरको आलोचनात्मक रिपोर्टिङको प्रतिक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै सिरोहियामाथि कानूनी दबाब सिर्जना गरे। यसले तिनको निष्पक्षता र पारदर्शिताको दाबीलाई गम्भीर चुनौती दियो, जसले तिनको तर्कसंगत अपिल (लोगोज्)लाई मात्र होइन, सम्पूर्ण नैतिक आधारलाई नै कमजोर बनायो। यो विरोधाभासले रविको नैतिक छविलाई धुमिल्याउँदै उनको राजनीतिक विश्वसनीयतालाई गहिरो संकटमा पुर्याएको छ। भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा निर्माण गरेको आदर्श र व्यवहारबीचको असंगतिले उनको सम्पूर्ण राजनीतिक यात्रामा गहिरो असर पारेको छ। यसले रविको सार्वजनिक छविमा गहिरो दरार ल्याएको छ, जसबाट उक्लिन उनलाई कठिन हुनेछ।