सरकारले दुर्घटना भएपछि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानदेखि पोष्टमर्टमको प्रक्रिया सुरू भएको हो।
अस्पतालको फरेन्सिक मेडिसिन विभागका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीसहित ८ जना फरेन्सिक डाक्टरहरू, चार जना दन्त चिकित्सक र अन्य सहयोगीहरूले पोष्टमर्टमको काम सुरू गरेका छन्। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पनि प्रहरी अधिकारीहरू खटिएका छन्।
डिएनए र फिंगरप्रिन्टको लागि प्रहरीको टोली खटिएको हो।
डा. चौधरीका अनुसार कन्सुलरलाई मृतकका विवरणहरू भर्न फाराम दिइएको छ। कन्सुलरमार्फत आफन्तले विवरणहरू भरेसँगै मृतकको पहिचान खुलाउनमा मद्दत हुने उनले बताए।
चिनियाँ नागरिकका आफन्त नेपाल आएर यहीँ दाहसंस्कार गर्ने वा चीन लगेर दाहसंस्कार गर्ने भन्नेबारे पनि कन्सुलरमार्फत आफन्तसँग कुराकानी गरेर निर्णय गरिने उनले बताए।
‘पोष्टमर्टमको काम सुरू भइसकेको छ। अहिले तथ्यांक संकलन गर्ने काम भइरहेको छ,’ डा. चौधरीले भने।
चिकित्सकको टोलीले बिहीबार दिनभरिमा पोष्टमर्टम गर्न सकाउने तयारी गरेका छन्। यद्यपि आफन्तलाई शव बुझाउन भने समय लाग्न सक्ने डा. चौधरी बताउँछन्।
‘सम्भवत: पोष्टमर्टमको काम आज दिनभरिमा सकाउने हाम्रो योजना छ। तर शव पहिचान गर्नको लागि म्याचिङ गर्नुपर्ने हुन्छ। त्यो काम चाहि भोलिसम्म होला,’ उनले भने, ‘शरीर बढी नै जलेकाले समय लाग्नसक्छ।’
चिकित्सकहरूले चिनियाँ कन्सुलरमार्फत आफन्तहरूसँग सम्पर्क गर्ने प्रयास गरेका छन्।
‘कन्सुलरले हामी दाहसंस्कारबारे पनि आफन्तसँग कुराकानी गर्छौं। परिवारले के भन्नुहुन्छ यहीँ नेपालमै दाहसंस्कार गर्ने हो कि चीन लैजाने भन्छन्, बुझ्छु भनेका छन्,’ डा. चौधरीले भने।
एयर डानेष्टीका क्याप्टेनको पनि शव जलेका कारण पहिचानबारे अहिले नै बताउन नसक्ने डा. चौधरीको भनाइ छ। उनकाअनुसार पोष्टमर्टम सकिएपछि मात्रै पहिचानको प्रक्रिया अघि बढ्नेछ।
हेलिकप्टर दिउँसो २:२० बजेतिर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो। त्यहाँ गोठाला गएकाहरूले दुर्घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए।
दुर्घटनामा पाइलटसहित पाँचै जनाको घटनास्थलमै मृत्य भएको थियो। पाँचै जनाको शव बुधबार नै काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याइएको थियो।