१६ जेठ, काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ ।
तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन्
यसको असरबाट बच्न र सतर्कता अपनाउन पनि महाशाखाले भन्दै आएको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा अझै कम गर्मीको सम्भावना रहेको मौसमविद बिनु महर्जनले बताइन् ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर ठाउँ ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।
बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।
कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।