बैतडीमा सात वटा भगवतीको बास
धार्मिक ग्रन्थमा सुदूरपश्चिम प्रदेशको नाम मानसखण्ड रहेको छ । शास्त्रमा उल्लेख भएअनुसारका देवीदेवता सुदूरपश्चिमका विभिन्न ठाउँमा बास बसेको स्थानमा सदियौँदेखि पूजापाठ गर्न देवी–दवताका मठ मन्दिर निर्माण गरिएकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा पनि चिनिन्छ । सुदूरपश्चिममा रहेका देवी–देवताका मन्दिर मध्ये सबैभन्दा शक्तिशाली भगवतीका मन्दिर मान्छिन् । मानसखण्डमा गौरा उपसाना हुने हुँदा यो क्षेत्र भगवतीका शक्ति क्षेत्रका रुपमा रहेको मान्यता छ ।
भगवतीको उत्पत्ति
भगवतीको उत्पत्तिको बारेमा अनेक प्रसङ्ग रहेका छन्, जस्तै ःमहिषासुर दानवले देवलोकमा देवताहरुको दमन गरी सृष्टिलाई दुःख कष्ट र पीडा दिनलागेको समयमा सबै देवगणहरु विष्णु भगवानका पाउमा परी महिषासुर दानवको बध गर्ने उपायका बारेमा आग्रह विन्ती गर्दा ब्रह्मा, विष्णु, महेश्वरका मुखारविन्दुबाट आएको तेज र अन्य देवताहरुका देहबाट आएको ज्वाला पृथ्वी मण्डलमा प्रकाशमान भई एकत्रित हुँदा भगतीको रुप प्रकट भएको पौराणिक मान्यता रहेको छ ।
सतीको अंगबाट पतन भएका १०८ शक्तिपीठहरु मध्ये मानखण्ड–सुदूरपश्चिम क्षेत्रमा अनेक शक्तिपीठ रहेका छन् । मानसखण्ड क्षेत्रका १६ भगवती बहिनीहरु (षोड्स मात्रिका) र पौराणिक रुपमा रहेका सप्त मात्रिकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ वटा भगवती बहिनीका रुपमा पूज्ने परम्परा रहेको छ ।
भगवतीको पूजा हुने स्थानमा भूमिराज ( भूमे देवता) को पनि अनिवार्य रुपमा पूजा गरिन्छ । भूमिराजलाई भगवतीका भाइको रुपमा मान्ने परम्परारा रहेकोले कतै मस्टो देवतालाई पनि भवगतीको भाइको रुपमा पूजा गर्ने चलन रहेको छ । मस्टो ( भूमि देवता) अछाम, बझाङ, बाजुर तिर पूज्ने चलन रहेको छ ।
धार्मिक दृष्टिले सुदूरपश्चिम शक्तिको भूमि हो । जसको प्रमाण यहाँको मौलिक तथा पहिचान दिलाउने महान् पर्व गौरोपर्व हो । यहाँका सबै शक्तिपीठहरू मानसी महतारी ( आमा) का भिन्न भिन्न स्वरूप हुन् । यी शक्तिपीठहरू पर्यापर्यटनका दृष्टिले अत्यन्तै महत्ववपूर्ण मानिन्छन् ।
भगवतीको स्वरुप
भगवान शङ्करका तेजबाट मुख, यमराजका तेजबाट शिरका कपाल, विष्णु भगवानका तेजबाट भुजाहात, चन्द्रमाका तेजबाट स्तन, इन्द्रका तेजबाट मध्य भाग, वरुणका तेजबाट जँघा र पिणुला, पृथ्वीका तेजबाट तिघ्रा,ब्रह्माका तेजबाट चरण, सूर्यका तेजबाट शाक्ति, वसुहरूका तेजबाट हातका औंला, कुवेरका तेजबाट नासिका (घाँटी) प्रजापतिका तेजबाट दात ,अग्निका तेजबाट आँखा र आखिँभौ, वायुका तेजबाट कान, अन्य देवताहरुका तेजबाट नारी शरीर पूर्ण भएकी शक्ति स्वरुपा देवी भगवतीको उत्पत्ति भएको पौराणिक तथा धार्मिक विश्वास रहेको छ ।
कति छन् भगवती ?
भगवतीका विषयमा सुदूरपश्चिममा हालससम्म सात वटा नौ र १६ वटा भगवतीको चर्चा हुने गरेको छ । वास्तवमा सुदूरपश्चिममा कति छन् त भगवती ? भगवतीको बारेमा चर्चा गर्दा वैदिक, पौराणिक, ऐतिहासिक र लौकिक गरि चार प्रकारले तथ्याङ्कको आधारमा भगवतीका बारेमा व्याख्या हुनुपर्ने मानसखण्ड पुनर्जागरणका मूल अभियन्ता आचार्य घनश्याम लेखक बताउनुहुन्छ ।
वैदिक भवगती
मानसखण्ड अर्थात् सुदूरपश्चिम प्रदेशमा पूजिने अम्विका, लक्ष्मी , रूद्राणी , वैष्णवी , शारदा, सरस्वती आदि वैदिक देवी भगवतीका रुपमा उल्लेख रहेको पाईएको छ ।
दश महाविद्यामा वर्णित काली,कपाली (छिन्नमस्ता) त्रिपुरसुन्दरी, उग्रतारा, धूम्रवती, भुवनेश्वरी, मसानी (भैरवी), कमला आदि नाम अत्यन्तै आदरका साथ मानसखण्डमा अङ्कित गरिएका छन् । मानसी महतारी (आमा) को पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको गोःरा (गमरा) (गौरा) नाम मानसखण्डको मौलिक, अति सम्मानित एवम् पहिचान बोकेको नाम हो ।
पौराणिक भवगती
मानसखण्ड सुदूरपश्चि प्रदेशमा रहेका पौराणिक नामहरूमा त्रिपुरसुन्दरी, उग्रतारा, पञ्चेश्वरी, हिम्बुका, तुहिनजा, कोटवी,नन्दा महादेवी , पत्रेश्वरी, दर्दुरा, कालिन्दी, सत्येश्वरी, मालिका, कालिका, ढुण्ढुपा, ज्वालावती, वृन्दारका, स्कन्दभवानी, दधिजा, भ्रामरी, मलयवासा, भवानी, अम्विका, शतशक्ति, वाराही, गिरिजा, परमेश्वरी, धूम्रवर्णा, सुष्मा, लवङ्गा, पुङ्गवी,कोपा,अन्नपूर्णा,वरदेश्वरी,छाया, महेश्वरी, वैजयन्ती, सुरभी, कामदा, स्वर्णा,रौप्या, भुवनेश्वरी, शिलादेवी, पूर्णगिरि, वैताली, सङ्गरा, काकेश्वरी आदि देवी भगवतीका नाम मानसभूमिका मानसी देवी भगवतीका रुपमा रहेका छन् ।
ऐतिहासिक भवगती
मानसखण्डमा त्रिपुरासुन्दरी, कोटवी, शैलेश्वरी, मालिका, दुर्गा, गौरी ऐतिहासिक भगवतीका नाम रहेका छन् ।
लौकिक भगवती
लौकिक अर्थात् लोकले मान्दै आएका बैतडीमै सातवटा भगवति रहेको कुरा आचार्य घनश्याम लेखक बताउनुहुन्छ । बैतडीमा रहेका सात वटा भगवती बहिनी मध्ये जेठी निङ्लासैनी, रणसैनी (त्रिपुरा), पोटलासैनी, कफलासैनी, डिलासैनी, बोदलासैनी र बिजासैनी भगवती रहेका छन् ।
यी सबै भगवतीको बारेमा सम्पूर्ण विवरण सङ्कलन गरेर ‘मानसखण्डका पौराणिक देवी’ नामक ग्रन्थमा प्रकाशित गर्ने तयारीमा रहेको आचार्य घनश्याम लेखकले बताउनुभयो ।
हालः चर्चामा रहेका भगवती बहिनी
सुदूरपश्चिमका विभिन्न शक्तिपीठ मध्ये बैतडीमा निङ्ग्लासैनी, रणसैनी (त्रिपुरासुन्दरी), मेलौली भगवती, डिलासैनी, काफलासैनी, पटलासैनी, बिजासैनी, डोटीमा शैलेश्वरी, डडेलधुरामा उग्रतारा, बाजुरामा बडीमालिका, कञ्चनपुरमा मणिद्वीप भगवती, दार्चुलामा दार्चुला भगवती, बझाङमा सुर्मादेवी, अछाममा वरदेश्वरी , कैलालीमा नयनेश्वरी भगवती प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेका छन् । प्रत्येक भगवतीका मन्दिरमा भगवतीका भाइ भूमिराजको पनि पूजा हुने गरेको छ ।
१.बैतडी–त्रिपुरासुन्दरी (रणसैनी) भगवती
बैतडी सदरमुकाम गोठालापानी नजिकै रहेको यो मन्दिर बैतडीको प्रसिद्ध धार्मिकस्थलको हो । प्यागोडाशैलीमा निर्माण गरिएको त्रिपुरासुन्दरीको मन्दिरको छाना ताम्रपत्रले बनाईएको छ । नेपाल सरकारले पर्यटन वर्ष २०२० मा त्रिपुरासुन्दरीलाई देशभरिका उत्कृष्ट सय वटा गन्तव्यमा राख्नुले पनि त्रिपुराको महत्व झन् बढेको छ ।
त्रिपुरासुन्दरी
बैतडी सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी–झुलाघाट सडक खण्डमा रहेको त्रिपुरासुन्दरी मन्दिरलाई रणशैनी भगवतीको नामलेसमेत चिनिन्छ । अन्न भर्ने एक रण्या जौं ( ४० माना) मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती पनि रहेको छ ।
त्रिपुरासुन्दरी भगवती स्थानीय मौनी जातिले रोडीदेवल बैतडीको तल्लो स्वराडबाट प्राप्त गरेको किवदन्ती छ । र, यस मन्दिरमा थापा (पुजारा जाति) प्रथम पुजारीसमेत रहेका र हालः व्यवस्थापकका रुपमा काम गरिरहेका छन् । बैतडी पल्लाचौडाली आईतका लेखक(पाण्डेय) एवं नौहाटका भट्ट जाति यहाँका पुजारी हुने गर्दछन् ।
त्रिपुरासुन्दरी मन्दिरमा वर्षमा ६२ दिन पूजा लाग्ने र प्रत्येक औंसी, पूर्णिमा, सङक्रन्ति, एवं चार वटा नवरात्रीमा पूजा लाग्ने मन्दिरका पुजारी पण्डित बिष्णुदत्त लेखक बताउनुहुन्छ । दसैंका बेला यहाँ राँगा बोकाको बलिसहित ठूलो मेला लाग्ने गर्छ ।
दसैं बाहेक असार शुक्ल नवमीको दिन हरेक वर्ष त्रिपुरा मन्दिरमा मेला लाग्ने गर्दछ । यस्तै साउन अथवा भदौमा रक्षा बन्धनका दिन ‘वोकाल’(मेला) र कात्तिक शुक्ल नवमीका दिन कात्तिक जाँत (मेला) लाग्ने गर्दछ । यस्तै असोज र चैतको नवरात्रिमा प्रतिपदादेखि दशमीसम्म नियमित पूजा गरिन्छ । यो बाहेक प्रत्येक सङ्क्रान्ति र पूर्णिमाको दिन भगवतीको विधिपूर्वक पूजा अर्चना गरिन्छ ।
यहाँ लाग्ने मेलामा बैतडीसँगै भारतको उत्तराखण्ड राज्यका कुमाउ–गढवालका १३ वटा जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनहरु आउने गरेका छन् । शक्तिवर्धनी भगवतीको दर्शन गर्नाले भक्तजनको मनोकामना पूरा हुने विश्वासले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।
भारतीय सीमा बजार झुलाघाटमा मोटरेवल पुल नहुँदा भारतीयहरु महाकाली नदीमाथि रहेको झुलाघाट स्थित झोलुङ्गे पुल तरेर त्रिपुरासुन्दरीको दर्शन गर्न आउने गरेका छन् । झुलाघाटमा पक्की पुल निर्माण हुनसके लाखौं धार्मिक पर्यटक भित्रिने संभावना रहेको छ ।
२.बैतडी–डिलाशैनी भगवती
डिलाशैनी भगवतीको मन्दिर पनि बैतडीमा रहेको छ । पुरचौंडी नगरपालिका–१० तल्लादेही र मल्लादेहीमा डिलासैनी भगवती मन्दिर रहेको छ । डिलासैनी भगवती स्थानीय बोहरा जातिले प्राप्त गरेको लोकोत्ति रहेको छ । दसैंका अवसरमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मन्दिर दर्शनका लागि हजारौं सर्वसाधारण आउने गरेका छन् भने मन्दिरमा राँगा बोकाको बलि दिने गरिन्छ ।
.jpg)
डिलाशैनी भगवती
डिलासैनी भगवतीको देवलमा साके सम्वत् १२०३ मा बनेको भन्ने शिलालेख रहेको छ । पुरातात्त्विक दृष्टिले डिलाशैनी भगवती मन्दिरमा रहेका देवलहरुको विशेष महत्व रहेको छ । यी देवलहरु पाण्डव, आद्य शंकराचार्य र तत्कालिन समयका राजा रजौटाले निर्माणको किवदन्ती र ईहिहास पाईन्छ । यस प्रकारका देवलहरु कुमाउदेखि कर्णालीसम्म पाईन्छन् । यी देवलको निर्माणमा कुनै प्रकारको काठ, फलाम, बालुवा गिट्टीको प्रयोग नगरि विशेष प्रकारको ढुङ्गा काटेर (कटुवा ढुङ्गा) ले निर्माण गरिएका छन् ।
३.बैतडी– निङलासैनी भगवती
निङलासैनी भगवती मन्दिर पनि बैतडीमै छ । दशरथरचन्द राजमार्गमै पर्ने यो मन्दिर दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा अवस्थित छ । यो मन्दिरमा दसैंको अष्टमी, चैतेदसैंमा राँगा, बोकाको बलि दिने चलन छ ।
किवदन्ती अनुसार स्थानीय दलित समुदायका लावड जातिले निगालोका झाङमा भगवती पाएकाले निङलासैनी नाम रहेको किवदन्ती छ । यही कारण दसैं पर्वको अष्ठमीको दिन बलि दिने राँगा मध्ये सबै भन्दा पहिले लावड जातिको राँगा बाध्ने चलन कायम छ ।
निङलासैनी भगवती
भक्तजनले यो मन्दिरमा वर्षेनी सायौं राँगा, बोकाको बलि दिने गरेका छन् । निङलाशैनी मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । वर्षको सुरुमा अनन्त चतुर्दशी, असोजको महाष्टमी, मङसिर शुक्ल पूिर्णमा, धान्य पूर्णिमा र चैत्राष्टमीका दिन विशेष पूजा लाग्ने गरेको छ । निङलाशैनी भगवती मन्दिरमा बैतडीलगायत दार्चुला, डडेल्धुरा, बझाङ र भारतको पिथौरागढ लगायतका क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन् ।
४.बैतडी– मेलौली भगवती
भगवती शक्तिपीठमध्ये मैलौली भगवतीको मन्दिर पनि बैतडीमा छ । बैतडीको पाटन–पचेश्वर सडकखण्डको मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको यो मन्दिरमा पूजाआजा गर्ने हजारौं भक्तजन पुग्ने गर्छन् । पछिल्लो समय सडक पुगेपछि भक्तजनलाई सजिलो भएको छ । प्रसिद्ध शक्तिपीठका रुपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कात्र्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन हुने गर्दछ ।
(1).jpg)
मेलौली भगवती
उक्त अवसरमा यहाँ करिब दुई सयदेखि पाँच सयसम्म ठूला राँगा र सोही संख्यामा बोकाको बलि दिइने गरिन्छ । करिब चार दिनसम्म रहने जात्रा (जाँत) मा करोडौंको व्यापार हुन्छ । नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन–दमाहाको बाजा–गाजासहित श्वेत फेटा र बागो लगाई सुन चाँदीको गहनामा सुशोभित हातमा चामर लिएर मेलैली र उदयदेवका धामीहरुले सयौं व्यक्तिहरुले बोक्ने चक्डोलमा सवार भइ पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्छन् । श्रावण र भाद्र महिनामा पर्ने सुदूरपश्चिमको प्रसिद्ध चाड गौरापर्वमा समेत यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
५.बैतडी–फालङासैनी भगवती
फालङासैनी भगवतीको मन्दिर बैतडीको सुर्नया गाउँपालिकाका–५,रौलेश्वरमा रहेको छ । फालङासैनी भगवतीको मन्दिरलाई भवानी माडौं पनि भन्ने गरिन्छ । दसैंको बेला यहाँ राँगा बोकाको बली दिने चलन छ । यहाँ सयौं राँगालाई खेतमा धपाएर बली दिने चलन रहेको छ ।
.jpg)
फालङासैनी
सुर्नया नदीको किनारमा रहेको फालङासैनी भगवतीको मन्दिरमा बलि दिन ल्याएका राँगा भागेर सुर्नयापारि गए भने समातेर पुनः बलि दिन उपयुक्त मानिदैन । सुर्नया परि बैतडीको प्रसिद्ध सिगास धाम भएका कारण नदी पारि भागेर गएको राँगालाई ल्याएर पुनः बलि दिनुहुँन भन्ने धार्मिक मान्यता रहेको छ ।
६.बैतडी–कफलासैनी भगवती
बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–५, मा कफलासैनी भगवती मन्दिरको रहेको छ । यहाँ दसैंमा भव्यमेला लाग्ने गर्दछ । मेलामा , बैतडीदेखि दार्चुलासम्मका भक्तजन भगवतीको दर्शन गर्न जाने गरेका छन् ।
(1).jpg)
कफलासैनी
कलफासैनीको दर्शन गर्नाले भक्तजनको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यहाँ निकै टाढाबाट मानिसहरु भगवतीको दर्शन गर्न आउने गरेको छन् ।
७.बैतडी–पोटलासैनी भगवती
पोटलासैनी भगवती विशेष प्रकारको कपडाको पोकोभित्र प्राप्त भएकोले पोटलासैनी नाम रहन गएको मानिन्छ । पोटलासैनी भगवती पञ्चेश्वर गाउँपालिका स्थित रोडी गाउँका भण्डारी जातिले कुलदेवीका रुपमासमेत पूजा गर्ने गरेका छन् । पोटलासैनीका बारेमा प्रचारप्रसार हुन नसक्दा पञ्चेश्वरको रोडी गाउँमा मात्रै पूजा आराधना हुँदै आएको छ ।
८.बैतडी–बिजासैनी भगवती
बिजासैनीको कहिले पनि पूजा नहोस् भन्ने श्रापका कारण बिजासैनी भूमिगत भगवतीका रुपमा रहेकी छिन् । बिजासैनीको पूजा नहुँने भएकोले बैतडीमा कहि कतै पनि बिजासैनीको मन्दिर निर्माण भएको छैन ।
९.डडेल्धुरा– उग्रतारा भगवती
उग्रतारा भगवती डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ र ८ को सीमानामा दशरथ चन्द राजमार्गसँग जोडिएको डाँडोमा कलात्मक शैलीमा बनाइएको महाशक्ति पीठका रुपमा पूजाआराधना हुँदै आएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीतर्फ जाने सडकखण्डको ४ किलोमिटर दूरी पार गरेपछि उग्रतारा भगवतीको मन्दिर देख्न सकिन्छ । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रातमा र दोस्रो दिन पूजाआजा गर्ने गरिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा चारवटा गाउँबाट बिहान ‘देउरो’ आएपछि दिउँसो मेला सुरु हुने गर्दछ ।

उग्रतारा भगवती
यहाँ ‘देहीजात’ का नामले ठूलो मेला लाग्छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मेला हेर्न आउनेको घुइँचो लाग्ने गर्छ । उग्रतारा भगवती मेलामा यस क्षेत्रमै सबैभन्दा ठूलो मेला लाग्दछ । बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइना दमाह, विकुल, भोकर र शङ्ख–घण्ट बजाएर चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेपछि मात्रै भगवती उग्रतारा भगवतीको पूजा सुरु हुने गर्छ ।
किम्बदन्तीअनुसार अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर सेतो ढुंगाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मान्यता रहेको छ । उग्रतारा मन्दिरमा दसैंको अष्टमीको दिन राँगाको बलि दिइने गरेको छ ।
१०.डोटी– शैलेश्वरी भगवती
नवरात्रिमा पहिलो दिन पूजा गरिने नव दुर्गा भगवती मध्ये शैलपुत्रि भगवतीलाई शैलेश्वरी भगवतीका रुपमा मान्ने चलन रहेको छ । विभिन्न शक्तिपीठ मध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको सदरमुकाम सिलगढीमा छ । शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठ मध्येको एक हो । यहाँ दिनहुँजसो पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ । यो मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूणिर्माको दिनमा मेला लाग्ने गर्छ । मेलामा विभिन्न ठाउँबाट हजारौं श्रद्धालु भक्तजनहरु आउने गर्छन् । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ ।
.jpg)
शैलेश्वरी भगवती
शैलेश्वरी भगवतीको मन्दिरमा एक सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्ने गरेको छ । महायज्ञमा देश विदेशमा रहेका लाखौं भक्तजनहरु आउने गर्छन् । प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर, र चण्डेश्वरी मन्दिर रहेका छन् ।
११.बाजुरा– बडिमालिका भगवती
भगवती बहिनी मध्येको बडिमालिकाको मन्दिर बाजुरामा पर्दछ । बडिमालिका क्षेत्र बाजुराको बडिमालिका र त्रिवेणी नगरपालिकाको सिमानामा रहेको छ । बडिमालिका क्षेत्रमा पुग्न बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिन पैदल हिँडेर पुगिन्छ । बडिमालिका धार्मिक हिसाबले मात्र नभई प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण रहेको छ ।
.jpeg)
बडिमालिका भगवती
बडिमालिकामा वर्षको दुईपटक गंगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । गंगा दशहरा भन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुइँचो बढी हुन्छ । मेलामा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी लगायत मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि भक्तजन आउने गरेका गरेका छन् ।
मालिका देवीको स्वागतका लागि बाजुरालगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ ।
बडिमालिका क्षेत्रमा २२ वटा हरियाली फाँट, दुई सय जति प्रजातिका रँगीचँगी फूल, लोपोन्मुख प्रजातिका वन्यजन्तु डाँफे, मुनाल र कस्तुरीको बासस्थान पनि रहेको छ । सयभन्दा बढी बहुमूल्य जडिबुटी र हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको संगम स्थल त्रिवेणी क्षेत्र बडिमालिकाको प्रमुख आकर्षण हुन् । १४ हजार फिटको उचाइमा रहेको बडिमालिका मन्दिर क्षेत्रमा हिँउ पर्ने हुनाले हिँउदमा करिब चार÷पाँच महिना सेताम्मे भएर हिउँ जम्ने गर्छ । बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य हो । बडिमालिका भगवती रहेको क्षेत्रमा वर्षको पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाकिने गर्छ ।
गंगा दशहरा मेलामा तत्कालीन राजपरिवारका सदस्यले हेलिकोप्टर चढेर पूजा गर्न जाने गरेका थिए । पौराणिक समयमा राक्षस र भगवतीबीच लडाइँ हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको भनेर मान्यता राखिएको स्थान यहाँ छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराञ्चलका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।
बडिमालिका क्षेत्रबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालिकोट, मुगुलगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।
१२.कैलाली– नयनेश्वरी भगवती
सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली जिल्लाको धनगढीमा नयनेश्वरी भवती रहेकी छिन् । नयनेश्वरी भगवतीको मन्दिर धनगढी बीच बजारमा रहेको छ । यस मन्दिरमा नवरत्रिमा विशेष मेला लाग्ने गर्दछ । यो बाहेक दैनिक पूजापाठ, विवाह–व्रतबन्ध लगायत अन्य धामिक क्रियमाकलाप हुने गर्दछन् । यहाँ श्रावणमा विशेष पूजा हुने गर्दछ । नयनेश्वरी मन्दिरमा रामलिलासमेत लाग्ने गर्दछ ।
१३.कञ्चनपुर–मणिद्वीप भगवती
मणिद्वीप भगवती कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट ५ किलोमिटर उत्तरतिर चुरेपहाडको फेदमा भीमदत्त रहेको छ । यहाँ रहेको सुमेरूमणि आकारको पहाडलाई नै श्रीदेवी अर्थात मणिद्वीपको रुपमा मानिन्छ । यस मणिद्वीप पहाडमा आज पनि रात्रिको समयमा प्राकृतिक रूपमा आफै मणि अर्थात् दियो बलिरहेने लोक विश्वास रहेको छ । मानसगुरूका अनुसार यो स्थान श्रीमद्देवी भागवतपुराणमा वर्णन गरिएको भूमणिद्वीप धाम हो । भगवतीलाई यहाँ मानसी श्रीदेवीको रूपमा पूजा गरिन्छ ।
.jpg)
मणिद्वीप भगवती
भक्तजनहरू मणिद्वीप भगवतीलाई सपनामा दर्शन दिने देवीभगवतीका रूपमा लिने गर्छन् । दैनिक पूजापाठ हुनुका साथै प्रमुख पर्वहरूमा विशेष पूजा गरिन्छ भने मुख्यपर्व पुस्यौडी अर्थात् पुष सङ्क्रान्ति हो । प्रचारप्रसारमा आउन नसकेको यो मणिद्वीप धाम हालः आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूका लागि प्रमुख गन्तव्य तथा आकर्षणको केन्द्रका रूपमा विकसित भइरहेको छ ।
१४.दार्चुलामा दार्चुला भगवती
दार्चुलामा दार्चुला भगवती प्रसिद्ध छिन् । दार्चुलामा मालिकार्जुन( मालिका भगवती) दोश्रो शर्माली भगवती र देलथा भगवती (देवस्थल) र व्यास गाउँपालिकामा सन्तोली भगवती प्रसिद्ध रहेका छन् । यी भगवतीको मन्दिरमा नवरात्रिमा ठूलो मेला लाग्ने गर्छ । पूजामा नेपाल तथा भारतबाट भक्तजन आउने गर्छन । उचित बाटोघाटो र बासस्थानको प्रवन्ध हुनसके यहाँ हजारौं धार्मिक पर्यटक भित्रिने संभावना रहेको छ ।
१५.बझाङ– सुर्मादेवी भगवती
सुर्मा देवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थित थलि जिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । श्रावण पहिलो औँसीका दिन बझाङ जिल्लाकै सबैभन्दा ठुलो धार्मिक सुर्मा देबी वीरी जात मेला लाग्ने गर्दछ । वीरी जात बझाङको धार्मिक महत्वको पर्व हो ।
सुर्मादेवी भगवती
विषेशतः सुर्मादेवी भगवती माताको लामो समयसम्म पूजाआराधना गरी मेला मनाउने परम्परा रहेको छ । यस मेलामा दार्चुला र बाजुराबाट सयौं तीर्थ यात्रीहरू आउने गर्दछन् । सुर्मादेवीलाई मिनी कैलास मानसरोवरका रुपमासमेत लिईन्छ । कैलास मानसरोवर जान नसक्नेले सुर्मादेवी भगवतीको तलाउमा गएर स्थानगरे पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।
१६.अछाम–वरदेश्वरी भगवती
वरदेश्वरी ( वरदा) भगवती अछाम जिल्लामा पर्ने सुप्रसिद्ध देवी हुन् । अछामको गाँजरी गाउँमा पर्ने यी भगवतीलाई वरदा देवीका भनिन्छ । यहाँ असौज नवरात्रिको आठ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । यसकासाथै अछामा सङ्गरादेवी भगवतीको पनि विशेष स्थान रहेको छ ।