काठमाडौँ- मंगलबार बिहान इलाम र झापाको सीमाना जोरकलशमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको ‘सवारी’लाई स्कर्टिङका लागि कुरेर बसेका एक जना प्रहरी अधिकारी भन्दै थिए, ‘वैशाख १५ गतेसम्म हामीलाई गाह्रो छ। मन्त्रीदेखि सांसदसम्म अहिले इलाम आइरहेका छन्। पार्टीका शीर्ष नेताहरू पनि अहिले इलाम आइरहेका छन्।’
वैशाख १५ गते हुने लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका आफ्ना पार्टीका उम्मेदवारका लागि भोट मागिदिन पार्टीका शीर्ष नेता, मन्त्री तथा सांसदहरूको इलाममा लर्को नै लाग्ने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठ मंगलबार साँझ इलाम पुगेकी छन्।
आफ्ना पार्टीका उम्मेदवार मिलन लिम्बूलाई भोट माग्न उनी इलाम पुगेकी हुन्। त्यस्तै, सांसद डा. तोसिमा कार्की पनि अहिले इलाममै छिन्। केही दिनमा पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने र अर्का मन्त्री डोलप्रसाद अर्याल पनि इलाम पुग्ने तयारीमा छन्।
मंगलबार साँझ नै पूर्वपरराष्ट्रमन्त्री एनपी साउद पनि इलाम पुगेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काका लागि मत माग्न उनी पनि इलाम पुगेका हुन्। नेपाली कांग्रेसका अन्य नेता तथा सांसद पनि इलाम पुग्ने क्रममा छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार भद्रपुर विमानस्थलमा ओर्लेर साँझ इलाम पुगेका छन्। मंगलबार दिउँसो जिल्ला कमिटी झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गरेर उनी साँझ इलाम पुगेका हुन्। बुधबार उनले मंगलबारेमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेकपा एमालेबाट संविधानसभा अध्यक्ष सुवास नेम्बाङका छोरा सुहाङ उम्मेदवार बनेका छन्। राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङका लागि भोट माग्न पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि इलाम पुगेका छन्।
बैशाख ५, २०८१ मा प्रकाशित