बझाङका चार परीक्षा केन्द्रमा एसईई दिएर बाहिरिने क्रममा विद्यार्थी माथि कुटपिट भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका-५ को खप्तड मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कने क्रममा खप्तडछान्ना गाउँपालिका-६ पाटादेवलका १८ वर्षीय खपिस थापा माथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ।
थापा माथि खप्तडछान्ना गाउँपालिका-५ का बालकेश सिंह र आनन्द सिंहको समूहले कुटपिट गरेको जनाइएको छ। उनीहरूले परीक्षा दिएर परीक्षा केन्द्रबाट बाहिर निस्केका थापाको टाउको, हात, पेटमा चक्कु प्रहार गरी फरार भएको र फरारमध्ये एक जना पक्राउ परेको र अन्य फरार रहेको प्रहरीले जनाएको छ।
यस्तै उता दुर्गाथली गाउँपालिकामा पनि एसईई दिएर फर्कने क्रममा दुई जना विद्यार्थीमाथि कुटपिट भएको छ। आज अन्तिम दिनको परीक्षा दिएर फर्कने क्रममा दुर्गाथली गाउँपालिका-१ मोरीबगरमा छविस पाथिभेराम गाउँपालिकाका-१ का अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका-२ का बिमल बोगटी माथि कुटपिट भएको प्रहरीले जनाएको छ।
भण्डारी र बोगटीलाई दुर्गाथली गाउँपालिका-१ का प्रकाश खाती लगायत तीनचार जनाको समूहले हातपात गरेको जनाइएको छ। कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको र अहिले उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। कुटपिट गर्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
त्यस्तै आज नै मष्टा गाउँपालिकाको भातेखोलामा रहेको कुलमष्टजन मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्किने क्रममा मष्टा गाउँपालिका-६ का मुन्ना बोहरामाथि पनि कुटपिट भएको छ। बोहरालाई बिमल बुढा, बादल बुढा लगायतको समूहमा आएका केटाहरूले हातपात गरेका हुन्।
कुटपिटबाट बोहराको अनुहारमा चोट लागेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए। यस्तै तल्कोटको दुर्गाभवानी माविमा पनि एक युवतीको विषयलाई लिएर विद्यार्थीबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ।
![](https://sushasanonlinenews.com/wp-content/uploads/2024/04/kids-argue-fight-friend-happy-siblings-boys-clip-art-girls-sister-bully-kindergarten-cry-bullying-mad-brother-rivalry-arguing-158023293.webp)