इसरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको रिहाइको माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन्।
आइतबार ललितपुरको जावलाखेलमा युवाहरूले उनको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्। हमासको नियन्त्रणमा रहेको भनिएका जोशी सम्पर्कबिहीन भएको तीन महिना बितेको छ।
हमासले नियन्त्रणमा लिएका केही विदेशीहरूलाई रिहा समेत गरिसकेको छ। तर जोशीको रिहाइ नभएपछि युवाहरूले प्रदर्शन गरेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इसराइल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए।