काठमाडौँ । भन्सार विभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) को आम सम्पर्क मञ्चसम्बद्ध नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । भन्सार विभागको मूल गेटसम्म समेत पुग्न नदिई प्रहरीले अवरोध गरेपछि दुई पक्षीय झडपको अवस्था बनेको हो । सो क्रममा सुरुमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो भने पछि लाठीचार्ज भएको हो ।
आजपा आम सम्पर्क मञ्चको भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रञ्जु कुमारी साहले प्रहरीले लाठीचार्ज गर्दा दुई जना सामान्य घाइते भएको जानकारी दिइन् । घाइतेहरूको हात र खुट्टामा सामान्य चोट रहेको छ ।
आजपाको झन्डासहित प्रदर्शनमा पुगेकाहरूले प्रहरी दमन भएको भन्दै चर्को नाराबाजी गरेका थिए ।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था गलत रहेकाले त्यसको खारेजीका लागि आफूहरूले आन्दोलन गर्दै आएको अध्यक्ष प्रभु साहको भनाइ छ । यो व्यवस्थाको विरोधमा गत चार महिनाअघिदेखि नै आजपाले चरणबद्ध आन्दोलन गर्दै आएपनि मागबारे सुनुवाइ हुन नसकेको उनको भनाइ छ ।