आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ। चुनावका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल रहनेछन्। साथै तिनै मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहनेछन्। देशभर जम्मा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ तोकिएको छ। मधेस प्रदेशका लागि महेन्द्र नारायणनिधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा रहेका छन्। बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा, मकवानपुर तोकिएका छन्।
त्यसैगरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ रहेको छ। कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत रहेको छ भने सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ।
तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्। साथै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहने आयोगले जनाएको छ।