काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछाने नेतृत्वको टोली पर्सा क्लब–११ ले भारत उत्तर प्रदेशको टोली यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने १६.३ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
पर्साका लागि दुई ब्याट्सम्यानले मात्र दाहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल शाहले १८ रन बनाए । उनले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान सन्दीप लामिछानेले १२ रन बटुले । उनले २० बलमा एक छक्का पनि प्रहार गरे । त्यसअघि सन्दीपले तीन विकेट पनि लिएका थिए ।