संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफुले सबै धर्मको समान अधिकार रहेको भन्ने भावको अभिव्यक्तिलाई बङ्गाएर अतिरञ्जित गरेको बताएका छन्। क्रिश्चियन धर्म नमान्ने भनेर हैन, क्रिश्चियनको अस्तित्वलाई नमाने त्यो काम संविधान विरोधी हुने उनले बताए।
‘मैले धार्मिक सहिष्णुताको कुरा गरेको हुँ, कोही पनि अतिबाद हुनुहुन्न भनेको हुँ,’ उनले भनेका छन्, ‘यसलाई बङ्गाएर अर्कै बनाइयो।’ सामाजिक सञ्जालमा भाइरल भएको ‘क्लिप’ प्रति सङ्केत गर्दै त्यो भन्दा अगाडीको एक लाइन मात्र सुनेपनि मैले के भन्न खोजेको प्रष्ट हुने बताए। ‘आधाघन्टा भन्दा बढी लामो भाषणमा मैले सकरात्मक कुरा मात्र बोलेको छु, उनले भने, ‘त्यो सुने सबैकुरा छर्लङ्ग हुन्छ।’
बुधवार राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल बहुधार्मिक देश भएको र संविधानको अधिकार प्रयोग गरेर क्रिश्चियन धर्मावलम्बी पनि रहेको बताएका थिए।
बुधबारको मन्तव्यमा उनले मुलुक सबै धर्मको साझा फूलबारी रहेको भन्दै सबै धर्मको समान अधिकार रहेको भावना राखेका थिए। ‘यो बंगैचाभित्र फुलेका रगिंविरगंी फूल मध्ये तपाइहरू पनि एक थरी फूल हो,’ उनले भनेका छन्, ‘तपाइहरूबिना फूलबारीको शोभा हुन्न।’ त्यस्तै किरातीले वि.सं. २०७८ को जनगणनामा नेपालमा १० वटा धर्म छ भन्ने तथ्याङ्क रहेको र राज्यका आँखामा यी सबै धर्म बराबर रहेको बताएका थिए।
‘संविधानको अधिकार प्रयोग गरेर सवै धर्मालम्बी नेपालमा बसेका हुन्,’ उनले भनेका छन्, ‘क्रिस्चियनको अस्तित्वलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो।’ त्यस्तै उनले संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोही गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’। भन्ने अभिव्यक्ती दिएका थिए।
उनको यही अभिव्यक्तिलाई क्रिश्चियन धर्म नमान्ने देशद्रोही भनेको भन्दै आलोचना सुरु भएको छ। यसरी आलोचना गर्नेमा धर्मको राजनीति गर्दै आएका कमल थापा देखि नयाँ राजनीति सुरुवात गर्ने भनेका रवि लामिछानेसम्म परेका छन्।
‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘यस्तो गैर(जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस्।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्। क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।
‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान जाओस्।