झापा – झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रमलाई जनसहभागिता जुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै थिए।

हजारौंको संख्यामा मोटरसाइकल र्याली गराएर पूर्वराजा शाहलाई मेचीनगरमा रहेको मेची क्राउन प्लाजाबाट बिर्तामोड–१ पञ्चकन्यामा रहेको इकम कलेजको कार्यक्रमस्थलसम्म पुर्याउने उनको योजना थियो।
व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनका कारण धेरै मानिस काठमाडौँ गएको भनिए पनि व्यापक मानिस उपस्थित गराउन लिङ्देन सफल भए।
मेची क्राउन प्लाजाबाट बिर्तामोड आइपुगुञ्जेलसम्म पनि लिङ्देन पूर्वराजा शाहसँगै थिए। पैदल हिँड्दा होस् वा मञ्चमा लिङ्देनले पूर्वराजा शाहलाई छोडेनन्।
लिङ्देनले भने, ‘आफ्नै जिल्लामा राजाको उपस्थितिमा हामीले शक्ति प्रदर्शन गर्ने मौका पाएका हौं। जुन हामीले गरेर देखायौं।’
मानिसको भीड छिचोल्दै पूर्वराजा शाहलाई कार्यक्रमस्थलसम्म आइपुग्न झण्डै दुई घण्टा समय लागेको थियो।
पूर्वराजा शाहले कलेजमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन्।
सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए।
पूर्वराजा शाह बसेको होटल मेची क्राउन प्लाजाबाट उनलाई हजारौं मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको थियो।
बिर्तामोडस्थित कार्यक्रमस्थलमा उनी आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षधर नारा लगाएका थिए।
उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गरेनन्।