संविधान दिवसको दिन सरकारबाट आममाफी पाएर छुटेका योगबहादुर ढकाल (रिगल)विरूद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले भोलि (बिहीबार)लाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
‘आज दुबै पक्षको बहस सकियो। इजलासले भोलिलाई निर्णय सुनाउने दिन तोकेको छ,’ उनले भने।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट आममाफी पाएका थिए। आममाफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।
त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।
मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए।
त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए।