प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने तयारी नगरेको प्रष्टाएका छन्।
नेकपा (एमाले) ले बुधबार च्यासलमा गरेको चियापान समारोहमा सहभागी भएका दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै काठमाडौंमा माओवादीले प्रदर्शन गर्न खोजेको भन्दै भइरहेका प्रचारमा सत्यता नभएको बताए।
‘मंसिर २२ गते प्रदर्शन गर्न लागिएको होइन। मिडियाले गलत ढंगले प्रचार गरेको छ,’ दाहालले भने, ‘देशैभरि वडास्तरमा जनपरिचालनको कार्यक्रम चलिरहेको छ। त्यही जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै ठाउँमा जनपरिचालन गर्न खोजेको हो। त्यो कुनै प्रदर्शन र कसैका विरूद्ध होइन।’
माओवादीले गत सोमबार अन्तरपार्टी सर्कुलर जारी गर्दै जनप्रदर्शन गर्ने उल्लेख गरेको थियो।
‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको छ।setopati