बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुड्खोरीका इनार महत रहेका छन्। उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो।
भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज बिहान १०ः३० बजे छबिसपाथिभेरा–७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। घाइतेमध्ये करिब २५ वर्षीय इनार महतको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ।
जीपमा चालक विनोद धामी सहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ ।
बाँकी दुर्घटनामा परि घाइते भएका छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरीका पाँच जना रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी जिल्ला अस्पतालमा उपचाररत छन्। उनीहरुमध्ये प्रकाशको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। जीप चालक र अन्य दुई जना भने सकुशल छन् ।