परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ।
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई सहजीकरण गर्न मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको हो।
मन्त्रालयलका प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई परराष्ट्रले सम्पर्क व्यक्ति तोकेको छ।
मन्त्रालयले उनीहरूको सम्पर्क नम्बरसमेत दिएको छ भने इमेलसमेत खुलाएको जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।
दूतावासले पनि आइतबार राति सूचना जारी गरी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु भएको जानकारी दिएको छ।
मृतकहरूको आधिकारिक सूची भने सार्वजनिक गरिएको छैन।
दूतावासले आक्रमणमा परी ४ जना नेपाली घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ। सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी भइरहेको पनि दूतावासले बताएको छ।
मृतक १० जनाको शव नेपाल पठाउन पठाउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। यसका लागि दूतावासलाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।
इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरेको छ।
हमासले गरेको आक्रमणमा विशेषगरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।
शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ।
