जनकपुरकी आरतीसाह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका उनका श्रीमान् र ससुरा साधारण तारेखमा छुटेका छन्।
बिहीबार जनकपुर उच्च अदालतले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहन साहलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
मुख्यन्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीको माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेपछि उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।
‘घटना हत्या नभई आत्महत्याजस्तो देखिएकाले पनि उनीहरूलाई साधारण तारेखमा छोडिएको हो। फाइलहरू हेर्दा पनि आत्महत्याजस्तो देखियो,’ रजिष्टार अधिकारीले भने।
अदालतको आदेशपछि मोतिबाबु र मदनमोहन बिहिबार नै छुटिसकेका छन्।
जेठ ७ गते जनकपुर उपमहानगरपालिका-८ स्थित श्रीमानको घरमा आरती मृत फेला परेकी थिइन्। घटनापछि माइतीपक्षले उनका श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए।
जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबु र मदनमोहनलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो।
जाहेरीपछि आरतीका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएर धनुषा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत जनकपुरले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
तर उच्चले मुद्दामा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतको आदेश उल्टाएको हो।
पोष्टमर्टम रिपोर्टमा पनि मृत्युको कारण ‘ह्याङ्गिङ’ भनिएको छ।प्रमाण नपुगेर तत्कालका लागि छोडिएको भएपनि उनीहरूमाथि अनुसन्धान भइरहने रजिस्ट्रार अधिकारीले बताए।
आरतीसाहको हत्या भएको भन्दै उनका माइतीपक्ष तीन महिनादेखि माइतीघर मण्डलमा धर्ना बसिरहेका छन्।