बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहित सर्वदलीय प्रतिनिधिमण्डलको एक टोलीले बुधबार बेलुकी प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावितलाई राहत माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
बझाङमा गत मंगलबार दुई पटक भूकम्प गएको थियो। भूकम्पबाट एक जनाको मृत्यु, केही घाइते र घर तथा विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको छ।
भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा घरहरू क्षति भएको छ।
२१ सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौं निजी घरमा क्षति पुगेकोले राहत उपलब्ध गराउन माग गरिएको महरले बताए।
महरसँगै सांसदहरू भानुभक्त जोशी, शेरबहादुर कुँवर, पुष्पबहादुर शाह, नेता धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, कांग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै कांग्रेस नेता नन्दकृष्ण जोशीलगायत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका थिए।
प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा आफू पनि निरीक्षणमा जाने तयारी गरेको बताएका थिए। सरकारले राहत उपलब्ध गराउने उनको भनाइ थियो।