काठमाडौँ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ । यो राष्ट्रिय निकुञ्ज वि. सं. २०३३ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा स्थापना भएको थियो। नेपाल सरकारले पर्यटन प्रवर्द्धन र स्थानीय बासिन्दाको जिविकोपार्जन सुधार गर्ने उद्देश्यले शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई वि. सं. २०७३।११।१० गते राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गरेको थियो। ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो राष्ट्रिय निकुञ्जले कञ्चनपुर , कैलाली जिल्लाका साथै भारतको सिमाना लाई समेत छुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र मुलुककै ठुलो घाँसे मैदान रहेको छ । जुन ५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । उक्त घाँसे मैदानमा बाह्रसिंगाको बथान सजिलोसँग देख्न सकिन्छ । यस राष्ट्रिय निकुञ्जमा २,५०० भन्दा बढिको संख्यामा बाह्रसिंगाहरुको झुन्ड देख्न पाइन्छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा पाटेबाघ, २३७ वटा कृष्णसारका अतिरिक्त जंगली हात्ती , चितुवा , घोडागधा, जरायो, चित्तल, लगुना, बाँदर जस्ता स्तनधारी जनावर पाइन्छन् । त्यस्तै मगर गोहि र अजिङ्गर जस्ता घस्रने जिवहरु पाइन्छन् भने ४२४ भन्दा बढी रैथाने र बसाइ सरि आउने चराचुरुङ्गीहरु पाइन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख बिशेषता यहाँको घाँसे मैदानमा पाइने बाह्रसिंगाहरु हो ।जसको लागि यो राष्ट्रिय निकुञ्ज प्रसिद्ध छ । जसले पर्यटकहरू लाई निकै लोभ्याउँछ । यस राष्ट्रिय निकुञ्जमा सबभन्दा बढी पर्यटकहरु बाह्रसिंगाको बथान हेर्न आउने गर्दछन । निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रुपमा घाँसे मैदान , रानी ताल , कृष्ण सार संरक्षण क्षेत्र र दोधरा चाँदनी जोड्ने झोलुङ्गे पुल रहेको छ। जसको लम्बाई १,४५२.९६ मिटर रहेको छ । यस राष्ट्रिय निकुञ्जमा ३६ प्रकारका स्तनधारी,१२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतलीहरु पाइन्छन् । जंगल सफारी , जंगल वाक, र्याफ्टिङका लागि पर्यटकीय गतिविधि खुला गरिएको भएपनि यो पर्याप्त छैन । जंगल वाकका लागि एक जना गाइड लाई ५ जना र दुई जना गाइड लाई १० जना पर्यटक गाइड गर्न दिएमा यसले उनिहरुको जिवनस्तरमा सुधार गर्न सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बाह्रसिँगाहरूकाे बढी भन्दा बढी प्रचार प्रसार गर्न आवश्यक छ। पर्यटकीय गतिविधिको लागि १२ महिना खुला गरि आन्तरिक र बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्न सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५५ वर्ग किलोमिटरमा फैलिएको घाँसे मैदान र बाह्रसिंगागरुको प्रचार प्रसारका लागि स्थानीय एफ.एम. रेडियो, टेलिभिजन , रेडियो नेपाल , गुगल , युट्युब, टिकटक , पत्र पत्रीकाहरुमा पनि सूचना प्रसारण गर्नु आवश्यक छ। यदि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बाह्रसिंगाहरुको राष्ट्रिय र अन्र्तराष्ट्रिय राष्ट्रिय रूपमा प्रचार गरि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकियो भने त्यसले केवल स्थानीय बासिन्दाको जिवनमा मात्र सुधार ल्याउने नभई देशको राजस्व वृद्धि गरि राष्ट्रिय आय समेत अभिवृद्धि गर्न सहयोग पुग्दछ ।
