विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेशको अधिवेशन वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । समूहगत छलफलको क्रममा अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडाइदिएपछि कार्यक्रम रोकिएको छ ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल भइरहेको थियो । यसअघि हिंजै प्रतिवेदनहरू अधिवेशनमा प्रस्तुत भइसकेको छ ।
राजनीतिक र साङ्गठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् ।
प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर सिधै मनोनयन दर्तामा जाने तयारी छ । अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने एमालेमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
अधिवेशनको बन्द शत्र संचालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो । अध्यक्ष मण्डलका अन्य सदस्यहरूमा नेताहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, डा।शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल रहेका छन् ।