काठमाडौं : निरन्तर आन्दोलनमा रहेका राहत शिक्षकहरुले प्रदर्शन आज थप आक्रामक र उत्तेजित बन्दै जान थालेको छ। हिजोसम्म शान्तिपूर्ण र भद्र तवरबाट आन्दोलन गरिरहेका शिक्षकहरूले आफ्ना मागलाई सरकाले बेवास्ता गरेको भन्दै थप आक्रोश देखाएका हुन्।
बिहीबार शिक्षक प्रदर्शनकारी र प्रहरीबीच माइतीघर मण्डलामै तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रहरीसँग धकेलाधकेल हुँदा प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन्। अवस्थालाई मध्यनजर गरी ठूलो संख्यामा प्रहरी सुरक्षाकर्मीहरू खटाइएको छ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएर स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका र पेन्सनबाट बञ्चितमा परेका शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्।
उनीहरु अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरुले अस्ति भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। शिक्षकहरुको प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक रहेका छन्।