राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन्।
संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राजनीतिक दलका नेताहरूको कमजोरी व्यवस्थाकै कमजोरीका रूपमा अपव्याख्या भइरहेकाले राजनीतिक निष्ठा र पवित्रता कायम गर्दै व्यवस्थालाई बलियो बनाउनुपर्ने बताएका हुन्।
राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र नभइ जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार समेत रहेको बताए।
उनले गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै रहेको बताए।
‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो। संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ,’ उनले भने।
राष्ट्रपति पौडेलले हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौं र अहिले हामीसँग आफैँले बनाएको संविधान छ भन्दै वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताए।
‘हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य,’ उनले भने।
उनले तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन सकको छैन् भन्दै हामीले प्रशासनिक रुपमा राज्यको पुनः संरचना गर्यौं, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर, राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी रहेको बताए।
उनले हाम्रो सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन भने।
‘हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको छ। यस्तो अवस्थामा नेपालीहरूबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन् भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने।
उनले भने, ‘लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भई अहिले संविधानतः तीनैतहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु।’
हाम्रो देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना हाम्रो अगाडि छ र यो निकै महत्वपूर्ण अवसर हो भन्दै राष्ट्रपति पौडेलले तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव रहेको बताए।
अहिले जनआन्दोलनका उपलब्धिहरू माथि फेरि कहीं, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सबै सचेत हुनुपर्ने उनको भनाइ छ।
उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हाम्रो जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको पनि बताए।