अमेरिकामा लुकेर बेसेकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको तस्वीर सार्वजनिक गरेकी छन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्वीर दन्ताले सोमबार फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरुलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । अमेरिकामा हार्दिक स्वागत । अमेरिकाको बसाइँ सुखद रहोस्, हार्दिक शुभकामना ।,’ उनले तस्वीर राख्दै लेखेकी छिन् ।

दन्ता २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजयी भएकी थिइन् ।२०७६ कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकी उपप्रमुख दन्ता त्यसयता सम्पर्कमा थिइनन् । उनी घरबाट जाँदा अमेरिका नभएर काठमाडौं जान हिँडेकी थिइन् । तर, उपमेयर नेपाली अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन २०७६ कात्तिकको पहिलो साता अमेरिका उडेकी थिइन् ।
उपमेयर नेपाली अमेरिका पुगेर लुकेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनले समाजिक सञ्जालमार्फत स्पष्टीकरणसमेत दिएकी थिइन् । आफूमाथि आरोप लागेको थाहा पाएपछि उपमेयर नेपालीले आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना लाग्ने उल्लेख गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । तर, चार वर्ष भइसक्दा पनि उनी अझै नेपाल फर्किएकी छैनन् ।