१, असोज धनगढीः एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा धनगढी उपमहानगरपालिकामा निर्माणाधीन सडकको काम अलपत्र छ। निर्माण कम्पनीले समयमै काम नगर्दा निर्माणाधीन सडकमा हिलो र धुलोले सास्ती व्यहोर्नु परेको छ। धनगढीको मुख्य बजारस्थित ट्राफिक चौराहादेखि कैलाली पुलसम्म पुरानो कालोपत्र भत्काइएको छ। पुरानो कालोपत्र भत्काएर थप काम नगर्दा आवतजावतमा समस्या भइरहेको चालकको गुनासो छ।
निर्माणाधीन सडकमा हुने हिलो र धुलोले बजार क्षेत्रको व्यापार–व्यवसाय समेत चौपट बन्न पुगेको व्यवसायीले गुनासो गरेका हुन्। मुख्य बजार क्षेत्रमा नाली बनाएपछि कालोपत्र भत्काउन सुरु गरिएको हो। पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले ७६ करोड ९० लाख ७६ हजारमा धनगढी उपमहानगरभित्र नाली, फुटपाथ र सडक बत्तीसहितको १० किलोमिटर बढी सडक निर्माणको ठेक्का लिएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक निर्माणको काम भइरहेको छ। तर, तेस्रोपटकको म्याद सकिनै लाग्दा पनि कामले तीव्रता पाउन सकेको छैन। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका अनुसार दुई वर्षभित्र काम पूरा गर्ने सर्तसहित २०७७ असार २८ गते कालिकासँग सम्झौता भएको थियो।
तेस्रोपटकको म्याद आगामी १४ कात्तिकमा सकिँदै छ। तर हालसम्म करिब ८१ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर सौरभ कलौनीले बताए। धनगढी–गुल्म जोड्ने दुई किलोमिटर सडक ग्राभेलका लागि गिट्टी राखिएको लामो समयदेखि अलपत्र छ। पीपलचौतारा–जाई, सहिदगेट–क्याम्पस चोक सडक कालोपत्रे भए पनि कालोपत्रे फिनिसिङ गर्ने, फुटपाथ बनाउनेलगायत काम अधुरै छन्।
कालिका कन्स्ट्रक्सनले भने क्षेत्राधिकारको विवादले काममा ढिलाइ भएको दाबी गरेको छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले बत्ती, बिरुवा र चिनीया दुबो रोप्ने काम थप गरिएकाले तोकिएकै समयमा सडक निर्माणको काम नसकिने बताए। उनले भने, ‘कात्तिक अन्तिमसम्म म्याद थप भएको छ। नयाँ काम थप गर्ने निर्णय भएको छ।’ धनगढीमा निर्माण थालिएका सातवटा सडकमा १५ वटा हाइमास्ट तथा १० किलोमिटर स्मार्ट स्ट्रीट लाइट जडान, वृक्षारोपण र चिनियाँ दुबो लगाउने निर्णय भएको छ।