१,असोज काठमाडौं । काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएका छन्।
काठमाडौंको टोखा नगरपालिका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल काम सुरु गर्ने निर्णय गरेको हो।
उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले स्मार्ट सडकबत्ती,हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेशन जडानका लागि सबै नगरपालिकाहरु तयार भएको बताए ।
फोरमको अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले उपत्यकाका नगरपालिकाहरुले स्मार्ट सडकबत्ती जडानका लागि स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताए।
‘धेरैजसो पालिकाहरुले बजेट छुट्याउनु भएको छ, नछुट्याउनु भएकाले पनि बजेट व्यवस्थापन गरेर काम गर्ने छलफल भएको छ’ उनले भने ।
फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो। छलफलमा घिसिङले सडकबत्तिका एकमुष्ट टेण्डर गर्न सकिने बताएका थिए । कुलमानको प्रस्तावपछि नगरहरुले सोहीअनुसारको तयारी गरेका छन्।
‘धनगढीमा सडकबत्ती बल्यो कि बलेन भनेर काठमाडौंबाटै हेर्न मिल्ने अवस्था छ, यस्तो बेलामा राजधानी सहर नै अँध्यारोमा बस्न हुँदैन,’ उनले भने । घिसिङले सबै पालिकाहरुसँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनको विषयमा समेत चर्चा भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठकमा विद्युतीय सवारीको माग र प्रयोग अत्यधिक बढिरहेकोले उपत्यकाको ठाउँ ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताएका थिए । विद्युतीय गाडीको माग अत्यधिक बढेको छ , चार्जिङ स्टेसनका लागि पालिकाहरुले संयुक्त लगानी गर्न गर्नुहोस्,’ बैठकमा कुलमान घिसिङले भने।
यस्तै मेयर्स फोरमको बैठकले उपत्यकाको वायु गुणस्तर व्यवस्थापनका लागि उपत्यका सबै पालिकाले आवश्यक पहल गर्ने र वातावारणसँग काम गर्ने संघसंस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ।
वातावरणविज्ञ भूषण तुलाधारले उपत्यकामा वायु प्रदूषणको अवस्थाबारे जानकारी गराएका थिए। वातावरण संरक्षणका लागि केही पालिकाहरुले गरेका असल अभ्यासको उदाहरण दिदैं काठमाडौंको हावा स्वच्छ बनाउन पालिकाहरुले धेरै काम गर्न सक्ने उनले बताएका थिए।