राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुने बताएका छन।
सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले सो कुरा बताएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए। उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे।
उनले आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा आफूहरूले देखाउने बताए। राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट रहेको उनको भनाइ थियो।
उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए। जनताले प्रधानमन्त्री बनाएका हुन्। जनताको काम गरौँ। जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ। होइन भने ज्यादा फुरफुर नगरौँ। आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौँ। राष्ट्रवादी शक्तिले देखाउँछौ। राष्ट्रियता, धर्म निरपेक्षताको विरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ। बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ। त्यसको सुरुवात २७ गतेबाट सुरु हुन्छ। यो प्रधानमन्त्रीलाई खुला चुनौती हो।