मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच भएको झडपलाई लिएर सर्लाहीको मलङ्वा तनवग्रस्त बनेको छ । शुक्रबार साझ मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो ।
शुक्रबार रातिदेखि अवस्था केही सहज भएपनि आक्रोशित युवाहरुले शनिबार चोक–चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन र सम्भावित दुर्घटना हुन नदिन अहिले मलङ्वा बजार क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचान गरिएको छ । अहिले पनि स्थिति नियन्त्रणमा लिन प्रहरीले बेला–बेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ । शुक्रबार रातिको स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो । स्थिति तनावका कारण आज मलङ्वा बजार ठप्प रहेको छ । शनिबार विहान सर्लाही जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेको थियो ।
बैठकले समाजमा सामाजिक सद्भाव कायम राख्न सबै धर्म, वर्ग र समुदाय समक्ष अपील गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले आज दिउँसो ४ बजेदेखि आज विहान ८ बजेसम्म निषेधाज्ञको तयारी गरेको छ ।
