२३ भदौ, काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी)ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएको छ ।
सन् २०२२ को डिसेम्बरमा एपीजीको विज्ञ समूहले नेपालको स्थलगत भ्रमण गरेर तयार पारेको प्रतिवेदन एपीजीले शुक्रबार सार्वजनिक गरेको थियो ।
एपीजीको प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको प्रदर्शन खराब देखिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणको प्रभावकारिता मूल्यांकन गर्ने ११ वटा क्षेत्रमध्ये नेपालले सातवटामा कमजोर रेटिङ पाएको छ भने चारवटामा मध्यम रेटिङ पाएको छ ।
त्यस्तै प्राविधिक अनुपालनको अवस्था मूल्यांकनका ४० सिफारिसमध्ये नेपालले पाँचवटा मात्रै पूर्ण पालन गरेको देखिएको छ । त्यस्तै, १६ वटा सिफारिसको पालना अधिकांश रुपमा भएको र १६ वटाको आंशिक कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ । तीनवटा सुझावको भने पालना नभएको एपीजीले प्रतिवेदनमार्फत बताएको छ ।
नेपाल सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि कानुन निर्माण, कार्यान्वयन र अनुसन्धान तथा कारवाहीमा नै कमजोर रहेको प्रतिवेदनको निष्कर्ष छ ।
यस्ता छन् प्रतिवेदनले देखाएका कमजोरीहरु
कानुन कार्यान्वयन गर्ने अधिकारी र निजी क्षेत्रमा सीमित बुझाइ
नेपालमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसँग प्रभावकारी रूपमा लड्न उच्चस्तरको प्रतिवद्धता, ठूलो स्रोत परिचालन, प्राथमिकता र समन्वय आवश्यक रहेको एपीजीले बताएको छ ।
नेपालको सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी कानुनी संरचना र सम्बन्धित संस्थाको क्षमता विकासमा थप काम गर्नुपर्ने प्रतिवेदनले औल्याएको छ । ‘कार्यान्वयन अधिकारीहरु र निजी क्षेत्रसँग सम्पत्ति शुद्धीकरण र आतंकवादमा लगानी सम्बन्धमा बुझाइ सीमित छ’, प्रतिवेदनमा भनिएको छ ।
यस्तै एपीजीको पारस्पारिक मूल्यांकनले राष्ट्र बैंकभित्र रहेको वित्तीय सूचना इकाई (एफआईयू) मा हुने रिपोर्टिङमा नै प्रश्न उठाइएको छ । बैंक तथा वित्तीय संस्थाले एफआईयूमा रिपोर्टिङ गर्ने भए पनि त्यसमा सुधार आवश्यक रहेको बताएको हो । ‘गैरबैंकिङ व्यवसायमा संलग्न र अन्य पेसाकर्मीहरुको वित्तीय जानकारी इकाइमा रिपोर्टिङ गर्ने गरेका छैनन्’, प्रतिवेदनमा भनिएको छ ।