काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।
संघले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले मसाल जुलुसहित विराेध प्रदर्शन गरेका छन् ।
कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भएको थियो । उनलाई नुवाकोटको विदुर नगरपालिका- ७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
ढुंगेलका अनुसार ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले यादवमाथि खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा सापकोटा पूर्वमन्त्रीसमेत रहेका यादवकै भाषण सुन्दै थिए ।