नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू गृहमन्त्री भएका बेलाको एउटा घटना मंगलबार नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा सुनाए।
०४८ को निर्वाचनमा डडेल्धुराबाट चुनाव जितेपछि देउवा गृहमन्त्री भएका थिए।
चुनाव जितेर आएर मन्त्री भइसकेकालाई मन परे पनि नपरे पनि कर्मचारीले मान्नुपर्नेमा नमानेको प्रसंग देउवाले सुनाएका हुन्।
‘चुनाव जितेर आइसक्यो, मन्त्री भइसक्यो, त्यसकारण कर्मचारीले मन्त्रीका कुरा पनि मान्नुपर्छ,’ देउवाले भने, ‘मन्त्रीका कुरा कर्मचारीले मानेन भने त उसले पनि निर्णय गर्न सक्दैन। सरकार र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ, कर्मचारीहरू नभए पनि देश चल्दैन। सरकारका कुरा पनि कर्मचारीले मान्नुपर्छ।’
चित्त नबुझेका कुरा सरकार र मन्त्रीलाई कर्मचारीले भन्नुपर्ने देउवाको भनाइ थियो।
यसपछि देउवाले आफ्नै उदाहरण दिन्छु भन्दै सुनाए, ‘म भर्खर गृहमन्त्री भएको थिएँ। एउटा प्रहरी अफिसरले यी गृहमन्त्रीहरू कति दिनका हुन्, आउने जाने हुन्। भोलि गइहाल्छन् नि!’ भनेका थिए।’
‘म त आउने जाने गरौंला’ भन्दै आफूले तत्काल नै ती प्रहरी अफिसरलाई निकालिदिएको देउवाको भनाइ थियो। ‘म त जाऔंला तपाईंचाहिँ कहिल्यै आउनुहुन्न भनेर तत्काल निकालिदिएँ,’ देउवाले भने।
मन्त्रीसँग कुरा मिल्दैन भने भन्नुपर्ने उनले बताए। ‘मन्त्री आउने जाने हुन् हामी हौं भनेर बहुत फुर्ति गर्नेलाई निकालिएको हो,’ उनले भने, ‘मन्त्रीसँग चित्त नबुझेका कुरा भन्नुपर्छ। यस्तो झगडा संसारभर हुन्छ।’