काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार काण्डहरूको छानविन गर्नका लागि सबै जना एक हुनुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा यसबारे धारणा सार्वजनिक गर्दै उनले यस्ता घटनामा नेताहरू मिल्छन् भने छानविनका लागि हामी किन नमिल्ने भन्दै प्रश्न गरेका छन्।
‘विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ,’ उनले भनेका छन्।
उनले सबै जना मिलेर प्रयास गरे भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्ने बताए। ‘यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन छन्। हामीले छुट्टाछुट्टै दर्जनौँ संशोधन हालेका छौं। यसमा राम्रोसँग काम गरौं,’ उनले भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔं। नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔं। के नीतिगत हो, के होइन प्रस्ट गरौं।’
उनले संसदबाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गर्नुपर्ने बताए। अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्षरूपमा काम गर्नका लागि के-के कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गर्न उनको आग्रह छ। ‘योसँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के-के बदल्नैपर्छ यसमा पनि काम थालौं। यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, ‘निर्दोष कोही नपरुन, दोषी कोही नछुटुन।’ भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस्,’ उनले भनेका छन्।
ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्ट्राचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लङ्ग भएको उनको भनाइ छ। ‘पुराना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानुनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरुमा काम गर्न यी घटनाहरूले हामीलाई झकझकाइरहेका छन्। तर यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ,’ उनले भनेका छन्।