न्याय परिषदले उच्च अदालतका न्यायाधीश विनोद पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ।
आइतबार बसेको बैठकले उनलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
झन्ड एक वर्षअघि परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। उनीसहित तीन जनालाई त्यति बेला गरेको सिफारिस संसदीय सुनुवाइ समिति नै नभएकाले अघि बढ्न सकेको थिएन। अहिले भने पौडेललाई मात्र सिफारिस गरिएको हो।
विराटनगरका कायममुकायम मुख्य न्यायाधीश रहेका ६३ वर्षीय पौडेल सर्वोच्चमा सिफारिस भएयता सर्वोच्च अदालतमै काज सरूवा भएका थिए।
२०६६ सालमा उनी सहसचिवबाट पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। त्यसयता विभिन्न पुनरावेदन र उच्च अदालतमा उनले काम गरेका छन्।
उपसचिवसम्म सरकारी वकिल भएर काम गरेका उनी २५ वर्षअघि सहसचिव भएका थिए। उनले कानुनमा स्नातकोत्तर तहसम्म पढेका छन्।
अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन्।