काठमाडौं : सरकारको आग्रहपश्चात प्रतिनिधि सभाको बैठक सरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ, ‘आज मिति २०८० साल भदौ ३ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सदनको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बोलाएका थिए। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबीन समिति वा आयोग गठन एमालेको बटमलाइन भएकाले माग पूरा नभएसम्म सदनमा अवरोध कायम रहने अडान कायमै रहेको बताएका थिए। उनले यस विषयमा सरकार गम्भीर नभएको प्रष्ट्याए।
प्रमुख प्रतिपक्षको मागलाई सत्तापक्षले आज पनि अस्वीकार गरेको छ। तत्कालै उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडान सत्ता पक्षले राखेको छ ।
विमानस्थलबाट क्वीटल (पगालेपश्चात ६० किलो ७ सय १६ ग्राम) सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गरिरहेको छ।
एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख घिमिरेले पटक-पटक सारिरहेका छन्। बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गर्देै आएको छ। तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गर्ने गरेका छन्।
दलहरुबीच आजको बैठकमा सहमति नजुटेपश्चात भोली पुन: बस्ने तय भएको छ।