बाराको पचरौता नगरपालिकाकी उपमेयर नासिमा खातुनमाथि कुटपिट भएको छ।
शनिबार एक समूहले उनकै घरमा छिरेर खातुन र उनका श्रीमान् नेवाजी अन्सारीमाथि कुटपिट गरेका हो।
पचरौता नगरपालिका मेयर जलन्धरसिंह जैसवारले २ नम्बर वडाका वडाध्यक्ष मनोज यादवको समूहले साँझ साढे ७ बजेतिर उपमेयर खातुनको घरमा गएको र उनीमाथि कुटपिट गरेको बताए।
कुटपिटबाट खातुन र उनका श्रीमान घाइते छन्। उनीहरूको एलेक्स न्युरो अस्पतालमा उपचार भइरहेको नगरप्रमुख जैसवारले जानकारी दिए।
बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले भने घटना सामान्य भएको बताए।
‘दुई पक्षबीच भएको सामान्य झडप हो, कुटपिट होइन,’ उनले सेतोपाटीसँग भने।
झडपमा वडाध्यक्ष पाण्डेको संलग्नता नरहेको पनि एसपी बोगटी बताउँछन्। अस्पतालले सामान्य चोटपटक लागेकालाई पनि आइसियूमा राखेको उनले बताए।
‘यहाँका अस्पताल त्यस्तै छन्, सामान्य बिरामीलाई पनि आइसियुमा राखिदिन्छन्,’ उनले भने।
घटनाबारे अहिलेसम्म प्रहरीमा उजुरी नआएको बोगटीले बताए।
मेयर जैसवारका अनुसार वडाध्यक्ष यादवले सात महिनाअघि पनि उपप्रमुख खातुनमाथि आक्रमण गरेका थिए। यसपालि खेलकुदको बजेटबारे विवाद भएका कारण उनले उपप्रमुखमाथि कुटपिट गरेको उनले बताए।
जैसवारका अनुसार वडाध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका भान्जा हुन्। उपराष्ट्रपति रामसहाय प्रसाद यादवदेखि जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्रीसम्म मनोजको सिधा पहुँचको भएकाले प्रहरीले समेत उनको संरक्षण गरेका जैसवार बताउँछन्।
यसअघिका कैयौं घटनामा वडाध्यक्ष यादवविरूद्ध जाहेरी लिएर गए पनि एसपी बोगटीले जाहेरी दर्ता गर्न नदिएको मेयर जैसवार बताउँछन्।