नेपाल क्रिकेट संघका क्यानका अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन्। नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्याएकोले एक पटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको उनले बताए।
आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता उनले व्यक्त गरे।
क्रिकेट संघ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भै काम गरेको दाबी गर्दै उनले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताएका छन्। सुदूरपश्चिमका कैलालीसहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरे।
जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको छ।