काठमाडौं : गत मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा मतदान तथा मतगणनामा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनवाइ भएन। दोहोर्याइ मतगणना गरी पाउँ भनी सर्वोच्चमा १६ वटा रिट निवेदन परेका थिए।
रिटको पेशी कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित संवैधानिक इजलासमा तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
रविदत्त मिश्र,उमाशंकर अरगिया,गणेश पौडेल,डम्बरबहादुर खड्का,विदेश्वर यादव,सुकेश्वर यादव,कालीप्रसाद शाक्य,सुरेन्द्र प्रसाद चौधरी,झलनाथ खनाल,महेन्द्र यादव, बलदेव रेग्मी, कर्णबहादुर थापा,लालबहादुर थापा,बुद्धिमान श्रेष्ठले मतदान र मतगणनामा धाँधली भएको र पुन:मतदान र मतगणनाको माग गर्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।
डम्बर बहादुरको तर्फबाट भने उनका वकिलले सुनुवाइ स्थगित गर्न लगाएका थिए। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल र नेकपा एमालेका श्रेष्ठले निर्वाचन बदर गरी पुन: निर्वाचन गराइ पाउँ भनि रिट निवेदन दिएका थिए।
एसका नेता खनाल इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। एमालेका श्रेष्ठ स्याङजाको प्रदेशसभा क्षेत्र नम्बर २ (२)बाट नेपाली कांग्रेसका महेश भट्टराईसँग पराजित भएका थिए।