भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको छिलकिल्लास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमवार एक सूचना जारी गरी बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गा बाँधका ढोका खोल्ने जानकारी दिएको हो।
भारतीय प्रशासन र जलविद्युत् परियोजनाले सिल्ट सरसफाइको कार्य गर्ने धौलीगङ्गा बाँधका ढोका खोल्न लागेको भन्दै नेपाली प्रशासनलाई जानकारी गराएको हो। बाँध खोल्दा महाकाली नदीको जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए।
व्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिका–३, लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले अनुरोध गरिएको छ। धौलीगङ्गा बाँध खोल्दा बैतडी, डडेलधुरा र कञ्चनपुरमासमेत महाकाली नदी तटीय क्षेत्रमा जलस्तर बढ्ने बताइएको छ।
भारतले धौलीगङ्गा नदीमा ठूलो बाँध बनाएर २८० मेगावाट जलविद्युत् उत्पादन गरेको छ। भारतले बर्खाको समयमा बाँधका ढोका खोल्दै आएको छ। २०७० सालमा दार्चुला सदरमुकाम खलङ्गा बजार बगाउने गरी बाढी आउँदा समेत धौलीगङ्गाका ढोका खोलिएको थियो।
