स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले पदभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेका छन्।
शुक्रबार हुने उक्त कार्यक्रममा उपस्थित हुन उनले काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।
स्वास्थ्य मन्त्रालयले सबै अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थित हुन भनेको छ।
सचिवस्तरीय निर्णयमा मन्त्रालयका सबै इकाइ, स्वास्थ्य सेवा विभाग, औषधी विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभाग, केन्द्रहरू र काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई पत्र पठाएर अनिवार्य उपस्थित हुन भनिएको छ।

मन्त्रालयको निर्देशनअनुसार वीर अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेलले शुक्रबार २ बजे राष्ट्रिय सभामा हुने कार्यक्रममा सहभागी हुन मातहतका डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिएका छन्। उनको निर्देशनमा अनिवार्य उपस्थिति भनिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त पत्रमा भनिएको छ- यस अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सेवा प्रवाहमा असर नपर्ने गरी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरूलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित भई कार्यक्रमको गरीमा बढाई कार्यक्रम सफल बनाउनुहुन अनुरोध छ।

टेकु अस्पतालकी निर्देशक डाक्टर मनीषा रावलले कार्यक्रममा उपस्थित हुन मन्त्रालयबाट इमेल आएको बताइन्।
‘मन्त्रालयले सबै अस्पताल र प्रतिष्ठानलाई इमेल आएको छ। हामी आफ्नो काम सकेर जाने हो। ड्युटीमा भएकाहरूलाई जानु पर्दैन,’ उनले भनिन्।
यस विषयमा बुझ्न खोज्दा मन्त्री बस्नेतसँग सम्पर्क हुन सकेन। मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले भोलि शुक्रबार भएकाले कार्यालय समयपछि कार्यक्रम राखिएको बताए।