काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले क्वीन्टल सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति गठनमा सहयोग गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले जनतालाई विश्वास दिलाउनका लागि सुन प्रकरणमा छानबिन समिति बनाउन मञ्जुर हुन गृहमन्त्रीसँग आग्रह गरेका हुन्।
‘जनतालाई विश्वास दिलाउनका लागि सुन प्रकरणमा उच्चस्तरीय छानबिन गठनमा मञ्जुर हुनुहोस्। सहयोग गर्नुहोस्,’उनले भने,’छानबिन समिति बनाउने वित्तिकै सरकार ढलिहाल्ने कुरा होइन। मन्त्री फसिहाल्ने कुरा छैन। ‘
सांसद लिङ्देनले संसद खुलाउने विषयमा प्रतिपक्ष मात्रै नभइ सरकारको सहयोग र रुची हुनुपर्ने बताए। उनले संसद खुलाउने कुरामा यो सरकारको रुची नै नभएको आरोप लगाए।
उनले भने,’संसद खुलाउने कुरामा प्रतिपक्षको मात्र नभइ सरकारको सहयोग र रुची हुनुपर्छ। तर यो सरकारको संसद खोल्ने कुरामा रुची नै छैन।’